कोपिला कंडेल, बागलुङ २०७४ मंसिर २० । पहिलो चरणको प्रतिनिधी तथा प्रदेश सभा सदस्य पदका लागि मंसिर १० गते सम्पन्न निर्वाचनको मत गणना भोलि मंसिर २१ गते विहीवार ५ बजे देखी सुरु हुने भएको छ ।
बागलुङ जिल्लामा दुई प्रतिनिधी सभा सदस्य र ४ प्रदेश सभा सदस्यपदको निर्वाचनको मतगणना बिहीवार ५ बजे देखी जिल्ला समन्वय समितिको कार्यालय बागलुङ पुरानो जिल्ला विकास समितिको कार्यालय भवनमा हुने प्रमुख निर्वाचन अधिकृत प्रकाश पण्डितले जानकारी दिएका छन् ।
दोस्रो चरणको निर्वाचन सकिएलगत्तै बिहीबार ५ बजेदेखी जिल्ला समन्वय समितिको कार्यालयमा कडा सुरक्षा ब्यवस्था सहित मतगणना शुरु गरिने मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए ।
जिल्ला समन्वय समितिको सभाहलमा तारजालीको घेरा बनाएर सिसि क्यामरा निगरानीसहितको गणनास्थल तयार हुँदैछ । प्रत्यक्ष निर्वाचनको मतपरिणाम तिनदिन भित्रैमा र समानुपातिक तर्फ यहि मंसिर मसान्त भित्रमा आउने गरी मतगणना शुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए ।
जिल्ला समन्वय समितिको हलमा हुने मतगणनाको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, त्यसपछि सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाली सेना गरी १ सय ५० जना सुरक्षाकर्मी र १ सय बढि कर्मचारीको व्यवस्था मिलाईएको निर्वाचन कार्यालयले जनाएको छ ।
आठवटा सिसि क्यामराको निगरानीमा रहने गरि तारजालीको घेरा भित्र मतगणना गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतपत्रको सुरक्षालाई ध्यानमा राखेर उम्मेदवार तथा दलका प्रतिनिधि र गणक कर्मचारी रहने बीचको भाग छुट्याउन जालीको घेरा बनाईएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए ।
मतगणना गर्ने कर्मचारीले तारजालीको घेरा भित्र बसेर मत गनेको दलका प्रतिनिधि बाहिरै बसेर अवलोकन गर्न सक्नेछन् । ‘अचानक हुनसक्ने घटनाबाट मतपत्रको सुरक्षामा कुनै समस्या नहोस् भनेर यस्तो व्यवस्था गर्नुपरेको हो,’ पण्डितले भने, ‘विगतमा मतपत्र नै च्यातिने गरि भएको घटना जस्ता कमजोरी फेरि नहोस भनेर उच्च सतर्कता अपनाएका छौँ ।’ उनले खुला लोकतान्त्रिक शासन व्यवस्थामा तारजाली भित्र मतगणना गर्नु शोभनिय नभएपनि सम्भावित दुर्घटनालाई मध्यनजर गरेर यसो गर्नु परेको बताए ।
एकै पटक ८ ठाउँमा मतगणना गर्ने व्यवस्था गरिएको छ । दुईवटा निर्वाचन क्षेत्रको छुट्टा छुट्नै ४र४ ठाउँमा मतगणना गर्ने तयारी गरिएको छ । गणना स्थलमा सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी त्यसपछि सशस्त्र प्रहरी र सबैभन्दा बाहिरको घेरमा नेपाली सेना रहने पण्डितले जानकारी दिए ।
यसैबिच नेपाली कांग्रेसले जिल्लाका तीन स्थानमा वाम गठबन्धनबाट ‘बुथ कब्जा’ भएको भनेर परेको उजुरीले मतगणना कार्य नरोकिने निर्वाचन कार्यालय बागलुङ्गले जनाएको छ ।
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तथा सम्बन्धित मतदान अधिकृतको राय माग गरेपछि जिल्लाबाट पठाईएको र अब आयोगले गर्ने निर्णयको आधारमा बाँकी काम अघि बढ्ने तर मत गणना कार्य भने नरोकिने मुख्य निर्वाचन अधिकृत प्रकाश पण्डितले जानकारी दिनुभयो ।
काँग्रेसका उम्मेदवारले वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै निर्वाचन सकिएको चार दिन पछि उजुरी दर्ता गराएका थिए । बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बरेङ गाउँपालिकाको धुल्लुबास्कोटमा वाम गठबन्धनले एकलौटी मतदान गरेको काँग्रेसको आरोप छ ।