Sorry, that menu does not exist.
 

प्रधान न्यायाधीश पराजुलीबाट अनलाइन उजुरी प्रणालीको उद्घाटन !

महेन्द्रराज सिंह, काठमाडौं २०७४ माघ ७ । प्रेस काउन्सिल नेपालसँग सम्बन्धित उजुरी अनलाइनबाटै दिन सकिने प्रणालीको अाइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका छन्।

प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन शुभारम्भ समारोहमा प्रधान न्यायाधीश पराजुलीले काउन्सिलले महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै पेशागत आचरण कायम गर्न, नियमन–अनुगमन गर्न र स्वस्थ, सभ्य, मर्यादित, व्यवस्थित पत्रकारिताको विकासका लागि सवै पक्ष लाग्नुपर्ने धारणा राखेका छन्।

सबै मौलिक हक निरपेक्ष नभएको उल्लेख गर्दै आफूलाई प्राप्त अधिकार सीमाबिहीन हुन्छ र त्यसमा कसैको नियन्त्रण, हद वा बन्देज हुँदैन भन्ने अवधारणाले समाजका कुनैपनि संस्था, निकाय अपेक्षाकृत सशक्त हुन नसक्ने, सभ्य, शिष्ट, सोम्य पत्रकारिताले मर्यादा कायम रहने, न्यायालयमा विचाराधीन मुद्दामा प्रभाव पर्नेगरी मिडियाबाट प्रकाशन–प्रसारण हुने गरेको, टुँडिखेल, रत्नपार्क र मण्डलाबाट निर्णय हुने हो भने लोकतान्त्रिक मूल्य र मान्यताअनुरुप राज्यबाट स्थापित निकायको अन्त्य त्यही विन्दुबाट हुने स्पष्ट पार्दै न्यायालय जनआस्थामा टिकेको आवाजविहीन संस्था भएको बताएका छन्।

‘राजनीति गर्ने त कुरै छोडौं, राजनीतिक गन्ध वा संकेत देखिने कुनै प्रकारको कार्यमा पूर्णतः अलग रहन्छ’ – उनले भने। संकटकालको बेला नेपालको न्यायालय र प्रेस एक अर्काका रक्षक भएर उभिएको उल्लेख गर्दै न्यायपालिकालाई बचाउने सामर्थ्य सञ्चार जगतमा हुनुपर्ने धारणासमेत राखे।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले अन्य लोकतान्त्रिक मुलुकको तुलनामा नेपालमा प्रेस स्वतन्त्रताको ज्यादा प्रत्याभूति भएको बताउँदै पत्रकारको नाममा अराजक, ठग्दै हिँड्ने, प्रहरी अधिकारीलाई दुःख दिने व्यक्तिमाथि कारवाही गर्दा अदालतले रोक्न नहुनेतर्फ ध्यानाकर्षण गराएका छन्।

एक न्यायिक निकायले गरेको निर्णय अर्को न्यायिक निकायले दोहोरो सुनुवाई नगरी स्टे अडर दिनु पनि उपयुक्त नभएको उनको धारणा थियो।

त्यसैगरी, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा काउन्सिल सदस्य गोविन्द आचार्यले पत्रकार महासंघको विधानमा पत्रकार आचारसंहिता उल्लंघन गर्नेलाई पत्रकारको सदस्यता खारेज गर्ने प्रावधान रहेकाे बताएका छन्। महासंघको सहमतिमा जारी पत्रकार आचारसंहिता पालना नगर्ने पत्रकारलाई काउन्सिलले कारवाही गर्न सक्ने र त्यसमा महासंघको समर्थन रहने भन्दै केही मिडियाले गर्दा सिङ्गो पत्रकारिता जगत् बदनाम हुँदै गएको, यसतर्फ सजग र सतर्क रहन पत्रकारलाई आग्रह गरेका छन्।

उक्त अवसरमा काउन्सिल सदस्य र्इश्वरीप्रसाद ओझाले काउन्सिलले गरिरहेको काममा रुपान्तरण आवश्यक रहेकोमा अनलाइनबाटै उजुरी दिन सकिने व्यवस्थाले काउन्सिलसम्म जनताको सहज पहुँच पुग्ने विश्वास व्यक्त गर्दै काउन्सिल पत्रकारको प्रहरी भएको धारणा राखेका छन्। लोकतन्त्र स्थापनामा प्रेसको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै पत्रकारितासँग सम्बन्धित विषयमा अनलाइनबाटै उजुरी दिन सकिने जनाएका छन्।

प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौंलागाईद्वारा सञ्चालित कार्यक्रममा काउन्सिलका उप प्रशासकीय अधिकृत रामशरण बोहराले अनलाइन उजुरी प्रणालीको प्रयोग र काउन्सिलको समग्र गतिविधिको संक्षिप्त विवरणसहितको कार्यपत्र प्रस्तुत गरेका छन्। अब विश्वका जुनसुकै स्थानबाट प्रेस काउन्सिल नेपालको वेबसाइटबाट अनलाइन कम्प्लेनमा क्लिक गरी आवश्यक कागजात, विवरण भरी पत्रकारितासँग सम्बन्धित उजुरी दर्ता गर्न सकिनेछ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply