बागलुङ, २०७४ माघ १६ । प्रेस चौतारी नेपाल बागलुङले यस वर्षको ‘प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष तथा धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिकका सम्पादक रामबहादुर जिसीलाई प्रदान गर्ने भएको छ ।
प्रेस चौतारी जिल्ला शाखा बागलुङका अध्यक्ष उमाकान्त शर्माको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले पुरस्कार छनौट समितिले सिफारिस गरे अनुसार जिसीको नामलाई अनुमोदन गर्दै माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
चौतारीले जिल्लामा रहेर पत्रकारिता गर्ने मध्ये जेष्ठता, क्रियाशिलता र निरन्तरताको आधारमा एक जना पत्रकारलाई स्थापना दिवसको अवसरमा गतवर्षदेखि पुरस्कृत गर्दै आएको छ । पुरस्कारको राशी नगद १० हजार रुपैयाँ र सम्मान पत्र रहेको प्रेस चौतारी बागलुङका उपाध्यक्ष नवीन शिशिरले जानकारी दिए ।
भुकम्पको घटनालाई आधारित बनाएर पत्रकार गणेश पाण्डेले निर्माण गरेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनीबाट संकलन भएको एक लाख रुपैयाँको कोष स्थापना गरी प्रेस चौतारी बागलुङले प्रत्येक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
यस वर्ष पुरस्कार पाउने जिसी विगत २ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका छन् । नवयुग साप्ताहिक, धौलाश्री साप्ताहिक लगायतका पत्रपत्रिकामा छिटफुट समाचार र टिप्पणी लेख्दै आएका जिसी पछिल्लो २ दशकदेखि व्यवसायिक पत्रकारितामा क्रियाशिल हुनुहुन्छ ।
पोखराको आदर्श समाज दैनिक, पोखरा हटलाइन, माइक्रोन्यूज दैनिकमा सम्वाददाताका रुपमा काम गरेका जिसीले धौलागिरि स्टार र ढोरपाटन दैनिकमा कार्यकारी सम्पादक, धौलागिरि एफएममा सम्पादकका रुपमा काम गरिसकेका छ् । जिसीले जनआन्दोलन २०६२÷०६३ को जनआन्दोलनका क्रममा धौलागिरि अञ्चलमा भएका घटना र फोटाहरु समेटिएको पुस्तक जनआन्दोलन–२ मा धौलागिरि नामक पुस्तक प्रकाशनसंगै दर्जन बढी पुस्तकहरुको सम्पादन गरेका छन् ।
धौलागिरि टेलिभिजन सञ्चालनका साथै समाचार तथा कार्यक्रम सञ्चालन लगायतका काम गर्नुका साथै पछिल्लो समय सहकारीमार्फत सञ्चारमाध्यमको संस्थागत विकासमा सक्रिय जिसी राष्ट्रिय सहकारी बैंकको सञ्चालक समेत हुन ।