विजय राना, बागलुङ २०७४ माघ १७ । पछिल्लो समयमा जैमिनी नगर पालिकाका विभिन्न वडाहरुमा मोटरबाटोको स्तरोन्नति गर्ने कार्यलाई तीब्र पारिएको छ । स्तरोन्नति गरिए संगै पिकअप जिप गुड्ने बाटोमा ठूला सवारी साधन गुड्न थालेका छन् ।
हालै मात्र जैमिनी नगरपालिकाकाु मुकाम कुस्मिसेरा बजार देखि दमेक जाडी पैयु थन्थाप रुम्टा देउराली राङखानी नाम्दुक धुल्लु बास्कोट बरेङ सम्मको मोटरबाटो स्तरोन्नतिको प्राविधिक स्टेटमेन्ट तयार पारिएको छ ।
साघुरो र खाल्डाखुल्डी रहेको उक्त बाटोमा मर्मत सम्हार गर्न स्टिमेट तयार पारिए संगै स्थानीयबासिहरुले खुसी प्रकट गर्न थालेका छन् । १६ किलोमिटर बाटोमा ट्रनिङ र नाली सहितको मोटरबाटो बनाईदैछ ।
बाटोको लागि जैमिनी नगरपालिकाबाट ४० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । एक महिनामा नै काम सक्ने योजना रहेको जैमिनी नगर पालिका वडा न. ९ का वडा अध्यक्ष भगिन्द्र कुमार थापा (वीरेन्द्र)ले जानकारी दिए ।
दमेकको तल्लो भागमा रहेको पहरा (केराबारीको भीर) फोड्नको लागि केही समय लाग्ने भए पनि अहिलेलाई पहरामा ४ मिटर चौडाईको बाटो मात्र निर्माण गरिने छ । उक्त पहरा फोर्नको लागि नेपाली सेनाले करिब २ करोड रुपैयाँ लाग्ने स्टीमेट निकालेको थियो । पहरामा बाहेकका सबै बाटोमा नाली संगै खनिने छ भने सबै बाटोको चौडाई ७ मिटर हुने बताइएको छ ।
मोटरबाटो चक्लाइए संगै जैमिनी नगर पालिका र बरेङ गाउँ पालिकाका जनताले यात्रामा भोग्दै आएको सास्ती हट्नेछ । सानो पिकअप गाडी मात्र चल्ने उक्त सडकमा हिउँद बर्खानै यातायातका साधानहरु सहज रुपमा चलाउने योजना सहित कामलाई तिब्र पारिएको छ ।
त्यसै गरि जैमिनी नगरपालिकाको माइकोस्थान, ब्याडथला मोटरबाटो स्तरोन्नतिको लागि २ वटा डोजर लगाएर काम सुरु गरिएको छ ।
जैमिनी वडा न. ४ का वडा अध्यक्ष थापाले एक महिना भित्रै बाटो चक्लाई सक्ने योजना सहित २–२ वटा डोजर प्रयोग गरि काम थालिएको बताए ।
थापाले नाली सहितको मोटरबाटो निर्माण हुने र हिउँद बर्खा नै यायाता सञ्चालन गर्ने गरि काम गरिएको बताइ । बाटोको लागि जैमिनी नगर पालिकाबाट ४० लाख ८० हजार रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
आफुहरुले कुश्मिसेरा देखि सर्कुवा, ब्याडथाला हुँदै बरेङ सम्म पिकअपको ठाउँमा बस नै चल्ने गरि बाटोको मर्मत तथा चक्लाउने काम गरिएको छ । त्यसबाट जैमिनीका सर्कुवा, राङखानी, जैदी र बरेङ गाउँ पालिकाका जनता प्रभावित हुनेछन् । अहिले ट्रनिङ मिलाउने, चक्लाउने संगै नालि खन्ने काम भइरहेको छ ।
बाटो मर्मत गरिए संगै त्यस क्षेत्रका जनताको यातायातमा सहजता हुनेछ भने भाडादर पनि कम हुनेछ । अहिले उक्त बाटोमा पिकअप मात्र चल्ने हुँदा महङ्गो भाडा असुल गर्ने गरेको स्थानीयको गुनासो छ ।
बाटोमा बस गुड्न थाल्यो भने चार भागको ३ भागले भाडा घट्ने अपेक्षा रहेको वडा अध्यक्ष थापाले जानकारी गराउनु भयो ।