Sorry, that menu does not exist.
 

आगामी बैशाखमा बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ महोत्सव २०७५’ को आयोजना गरिने निश्चित !

सुमन सुनार, बुर्तिबाङ २०७४ माघ १८ । बुर्तिबाङमा पश्चिम बागलुङको पहिचान झल्कने गरि ४ वटै स्थानीय तहको संयोजन तथा उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङको आयोजनामा बुर्तिबाङ महोत्सव हुने निश्चित भएको छ ।

महोत्सवको पूर्व योजना तर्जुमा तथा प्रस्तावना र कार्ययोजनाका सन्दर्भमा आज ढोरपाटन नगरपालिकाको कार्यालयमा तमानखोला गाउँपालिका, बडीगाड गाउँपालिका, निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका प्रमुख सहितको संयुक्त बैठक सम्पन्न भएको छ ।

बैठकले पश्चिम बागलुङको सस्कृति, पर्यटन, कृषि तथा व्यापार मेला सहितको वृहद साझा उत्सवका रुपमा महोत्सव आगामी २०७५ बैसाख १४ देखि २० सम्म एक हप्ता सञ्चालन गर्ने विषयको प्रस्ताव आएको छ । यद्यपि स्थानीय तहको बैठकपछि मात्र एकिन समय तय हुने बताइएको छ ।

संघका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा बसेको संयुक्त बैठकमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख कर्मती पुन, निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा सहित उद्योग वासणज्य संघका पदाधिकारी तथा सल्लाहकार सदस्यहरुको उपस्थिति रहेको थियो ।

बैठकले आगामी नयाँ वर्षको बैशाखे पूर्णिमालाई ध्यानमा राख्दै पश्चिम बागलुङको प्रमुख प्रर्यटकीय स्थल ढोरपाटन सहित चार वटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको विकास र प्रवर्धन तथा प्रचारप्रसारका लागि साझा उत्सव आयोजना गरिने निर्णय गरेको छ । महोत्सवको उद्योग वाणिज्य संघ आयोजक संस्था रहेपनि स्थानीय चारवटै स्थानीय तहको मुख्य संयोजन रहने विषयमा सहमति गरिएको संघका अध्यक्ष चिन्तामणी शर्माले जानकारी दिए ।

बैठकमा आगामी फागुन महिनाको १५ गतेभित्र सबै स्थानीय तहमा यस विषयमा बैठक वसी आ आफ्ना स्थानीय तहबाट महोत्सवको मूल प्रस्तावना र कार्यक्रमका विषयमा साझा धारणा तय गरिने निर्णय भएको छ । उक्त बैठकपछि तत्काल स्थानीय निकायका प्रमुख तथा संघको संयुक्त बैठकले निर्णय गरि कार्यक्रमलाई अघि बढाइने सहमति गरिएको संघका महासचिव रामनारायण सुवेदीले ईबागलुङलाई बताए ।

स्थानीय निकायको बैठक र निर्णयले निश्कर्षमा पुगेपछि महोत्सवको प्रचार प्रसार, सहकार्य गर्ने संघ संस्था तथा प्रायोजक÷सहप्रायोजक तथा प्रवद्र्धक संस्थासँग प्रस्तावना पत्र सहित छलफल अघि बढाइने निर्णय भएको महासचिव सुवेदीले बताए ।

बैठकमा सबै स्थानीय निकायका प्रमुखहरुको राय सल्लाह र सुझाव आएका थिए । ढोरपाटन नगरपालिकाका प्रमुख नेपालीले सबैको अपनत्व र सहभागीतामा महोत्सव हुनुपर्ने भन्दै सबैसँग अझै व्यापक छलफल परामर्शलाई संघले निरन्तरता दिनुपर्नेमा जोड दिए ।
यस्तै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ शर्माले स्थानीय तहको सहभागीतामा पश्चिम बागलुङको बुर्तिबाङमा साझा महोत्सव हुनु महत्वपूर्ण कार्य भएकाले यसलाई सबै स्थानीय जनताले समेत साझा मान्ने गरि छलफल र प्रचार प्रसार आवश्यक रहेको बताए ।
यस्तै बडीगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले पश्चिम बागलुङका ४ स्थानीय तहसँगै गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई समेत समेटन जरुरी भएको भन्दै सहकार्यका लागि अनुरोध गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पाइजाको उक्त प्रस्तावलाई सबैले मनन गर्दै तत्काल ती दुई छिमेकी स्थानीय तहमा निर्वाचन क्षेत्र एउटै भएकाले पनि समावेश गरेर जाने विषयमा एकमतले निर्णय गरिएको छ ।

यता तमानखोला गाउँपलिकाका अध्यक्ष जोकलाल बुढाले, यसखालको कार्यक्रमले पश्चिम बागलुङका ४ वटा स्थानीय तहलाई एकतामा जोडदै यहाँको विकास निर्माणमा समेत साझेदारी गर्ने अवसर प्राप्त हुने धारणा राखेका थिए ।

यसैबीच बैठकले उद्योग वाणिज्य संघले सञ्चालन गर्ने व्यवसायिक शिविर, स्थानीय निकायमा व्यवसाय दर्ता लगायतका विषयमा समेत छलफल गरिएको छ । बैठकको सहजीकरण संघका अध्यक्ष र महासचिव सुवेदीले गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply