Sorry, that menu does not exist.
 

सहकारीमार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा जुट्ने प्रतिवद्धता

बागलुङ, २०७४ माघ २० । सहकारी सञ्चालनका सम्बन्धमा राज्यले बनाएको नीति नियमलाई प्रभावकारी कार्यान्वयन गर्दै सहकारी मार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको अभियानमा जुट्ने प्रतिवद्धता बागलुङका सहकारीकर्मीहरुले व्यक्त गरेका छन् ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङले शनिवार बिहान आयोजना गरेको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थाहरुका लागि जारी गरिएको निर्देशन, २०७४ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

सहकारी विभागले हालै जारी गरेको सम्पत्ती शुद्धीकरण निवारण सम्बन्धी निर्देशनका बारेमा जिल्लामा रहेका सहकारीका सञ्चालकहरुलाई जानकारी दिने उदेश्यले आयोजित अन्तरक्रियाका सहभागीहरुले यो निर्देशन लगायत सबै ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सहभागीहरुले राज्यले अख्तियार गरेको समाजवाद उन्मुख अर्थतन्त्रलाई सफल बनाउनका लागि सहकारी क्षेत्रको भूमिका प्रभावकारी हुने र त्यसका लागि सहकारी सम्बन्धी ऐन नियमको पूर्ण पालना गरेर अगाडि बढ्नु पर्नेमा जोड दिएका हुन् ।

व्यवहारिकताका नाममा कतिपय अवस्थामा कमी कमजोरी भएका हुन सक्छन्, तर अबका दिनमा ऐन कानुनको परिधी र प्रक्रिया अनुसार अगाडि बढ्नका लागि राज्यले सहजीकरणको व्यवस्था गर्नु पर्नेमा सहभागीको जोड थियो ।

संघीय संरचना अनुसार स्थानीय तह, प्रदेश र संघले सहकारी क्षेत्रको दर्ता लगायत नियमन अनुगमन गर्ने भएकाले सोही अनुसार अगाडि बढ्ने सहकारीकर्मीहरुको भनाइ थियो ।

सहकारी विभागबाट जारी भएको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी सहकारी सङ्घसंस्थाहरुका लागि जारी गरिएको निर्देशन, २०७४ सम्बन्धमा जिल्ला सहकारी संघका सल्लाहकार तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहजीकरण गरेका थिए । उनले विभागको निर्देशनमा भएका प्रावधान, सहकारी संघ संस्थाले गर्नु पर्ने काम र यसको कार्यान्वयनबाट हुने फाइदा वेफाइदाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बागलुङ नगरपालिका वडा नं. २ का अध्यक्ष नगर कार्यपालिकाका आर्थिक एवं सहकारी विभाग प्रमुख जीवन आचार्यले नगरपालिकाका तर्फबाट जिल्लामा रहेका सहकारीहरुसंग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले सहकारी ऐन, नियम र संघ संस्थाहरुको विनियम अनुसार सहकारीलाई सञ्चालन गर्न सहजीकरण गरिने र नियम विपरित काम गर्नेलाई खबरदारी गरिने बताए ।

कार्यक्रममा संघका सल्लाहकार तोयानाथ गौतम र सहभागीहरुका तर्फबाट रामरेखा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गीतादेवी शर्माले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्र थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply