Sorry, that menu does not exist.
 

ढोनपाका ९ वटा वडाहरुमा १ जना मात्र सचिव : वडा कार्यलय प्रयोग बिहीन : सेवाग्राहीलाई समस्या !

प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ माघ २१ । ढोरपाटन नगरपालिका भित्रका वडा कार्यलयहरु प्रयोग बिहिन बनेका छन् । वडा कार्यलयका लागि आवश्यक पर्ने वडा सचिव तथा कर्मचारीको व्यवस्थापन हुन नसकेपछि वडा कार्यलयहरु प्रयोग विहीन बनेका छन् भने यति ठुलो क्षेत्रफलमा बसोवास गर्ने नगरपालिकावासीलाई साधारण सिफारिसको लागि पनि बुर्तिवाङसम्म आउनु/जानु पर्दा कति कठिनाई होला सहजै अनुमान गर्न सकिन्छ ।

स्मरणीय छ,साविकका बुर्तिबाङ, खुंगा, अधिकारीचौर र बोवाङ गाउँ विकास समितिहरूलाई समेटेर बनाइएको ढोरपाटन नगरपालिकाको कूल जनसंख्या २६,२१५ रहेको छ भने यसको क्षेत्रफल २२२.८५ वर्गकिलोमिटर रहेको छ ।

कर्मचारी अभावले गर्दा नगरपालिका भित्रका ९ वटा वडामा आवश्यक पर्ने पञ्जिकरण सम्बन्धिका सवै काम १ जना सचिवले मात्र गर्नुपरेको छ । अहिले सवै वडाका व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ताको लागि अभिलेख चेकजाँच तथा दर्ता प्रकृयाका सम्पूर्ण कामहरु साविक अधिकारीचौर गाविस तथा हालको वडा नं. ५ र ६ का सचिव कमलप्रसाद कँडेल एक्लैले गर्नुपर्ने अवस्था छ । एउटा वडामा ३ जना कर्मचारी रहँदा पनि कामको भार बढ्ने अवस्थामा एक्लैले सवै वडाको कार्य सम्पादन गर्दा समस्या रहेको सचिव कँडेलले ईबागलुङलाई बताए । धेरै कर्मचारीहरु जिल्लाका सुगम क्षेत्रका स्थानीय तहहरुमा बस्न रुचाउने तर पश्चिम क्षेत्रमा आउन नमान्ने परिपाटीले पनि कर्मचारी व्यवस्थापनमा समस्या भएको सचिव कँडेलको गुनासो थियो ।

फागुन दोस्रो हप्तादेखि नै सामाजिक सुरक्षा भत्ताको प्रकृया शुरु हुने र सवै वडाका लाभग्राहीहरुको अभिलेख चेकजाँच तथा नयाँ अभिलेख दर्ता प्रकृया एक्लैको लागि अझ बोझिलो बन्ने हुँदा त्यो भन्दा अघि नै आवश्यक कर्मचारीको व्यवस्थापन गरिदिन कँडेलले सरोकारवाला निकायलाई आग्रह गरे ।
अहिले नगरपालिकाको कार्यलयबाट नै कार्यसम्पादन गरिरहेका कँडेलले कुनै एक वडामा बस्दा अन्य बाँकी वडाका जनताहरु सेवासुविधाबाट बञ्चित हुने हुँदा नगरपालिकाको कार्यलयबाट नै काम गर्नुपरेको उहाँले बताए ।

केही समय पहिलेसम्म नगरपालिकाभित्र ३ जना सचिवहरु थिए । तर एकपछि अर्को गर्दै साविक बोबाङ गाविस तथा हालको वडा नं. ७, ८ र ९ वडा हेर्ने जिम्मा पाएका सचिव हिमलाल सापकोटा र साविक बुर्तिबाङ र खुंगा गाविस तथा हालको १, २, ३ र ४ वडाका सचिव विष्णुप्रसाद शर्मा सरुवा भएर गएपछि सवै वडाको जिम्मा कँडेल एक्लैको काँधमा आएको हो ।

नगरपालिकाभित्रका सवै वडामा समेत वडा कार्यलय स्थापना हुन सकेको छैन । धेरै जसो वडाहरुले एउटै कार्यलयबाट सेवा प्रवाह गर्नुपरेको छ । अहिले नगरपालिकाको वडा नं. १, २ र ३ ले एकै स्थानमा संयुक्त रुपमा वडा कार्यलय स्थापना गरेका छन् । त्यस्तै, वडा ं. ५ र ६ को तथा वडा नं. ७ र ८ को पनि संयुक्त वडा कार्यलय छ । वडा नं. ४ र ९ को भने आफ्नै वडा कार्यलय छ । तर नगरपालिकाका सवै वडाहरुको लागि १ जना मात्र सचिव भएपछि सवै वडा कार्यलयहरु प्रयोग विहीन जस्तै बनेका छन् । अत्यावशकीय विषयको छलफल बाहेक वडा कार्यलयको कुनै प्रयोग हुन नसकेको वडा नं. ६ का वडा अध्यक्ष जीवनकुमार पुनमगरले बताए ।

नयाँ संरचना अनुसार कर्मचारी व्यवस्थापन हुन नसक्दा नगरपालिकाको कार्यसम्पादनमा प्रत्यक्ष असर परेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यको भनाई छ । जिल्लाभरका सवै स्थानीय तहमा आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन गर्ने संयन्त्र कर्मचारी व्यवस्थापन समिति भएकाले समितले यसका लागि विशेष पहल गर्नुपर्ने आचार्यको भनाई छ । कर्मचारी व्यवस्थापनको लागि मन्त्रालयमा समेत पहल गरिएपनि अझैसम्म सुनुवाई हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।

उता निसी, बोहरागाउँ, देबिस्थान र राजकुत गाविसहरु मिलेर बनेको निसीखोला गाउँपालिका ७ वडाहरु दुई जना सचिवहरुले हेरिरहेका छन् । एक्लैले चार वडाहरुको कार्य सम्पादन गर्न नसकिने सचिवहरुको गुनासो रहेको छ । निसीखोला गाउपालिकाको ३ देखी ६ वडा गरी ४ वडाको कार्यसम्पादन गरिरहेका सचिव ईन्द्र शाक्यले एउटा वडाको मात्र जिम्मेवारी तोक्न गाउपालिकामा निवेदन दिएको बताएका छन् भने गाउँपालिका प्रमुख तारानाथ पौडेलले कर्मचारीको अभाव भयो भनि जिल्लामा भन्दा केहि समयमा आउने आश्वासन मात्र दिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply