गल्कोट २०७४ माघ २२ । गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजना तथा गलकोट नगरपालिकाको सहयोगमा सञ्चालित क्षमता अभिवृद्धी तथा उदघोषण तालिमको समापन कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले गलकोट नगरपालिका भित्रका महिलाहरुको राजनैतिक, आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन क्षमता अभिवृद्धी तथा उदघोषण तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
सुवेदीले स-साना त्रुटीहरुलाई सच्चाउदै तालिमको न्यूनतम मान्यतालाई अगाडी बढाई राजनैतिक रुपमा सचेत, नैतिकरुपमा नैतिकतावान बन्न सहभागी महिलाहरुलाई आग्रह गरे । तालिममा सिकेका कुरा गाउ समाजमा हुने कार्यक्रममा क्षमता प्रस्तुत गरेमा मात्रै तालिमको सार्थकता रहने चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत सुवेदीले आगामी दिनमा यस्ता तालिम आयोजना गर्न नगरलाई थप हौसला मिल्ने उल्लेख गरे ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नं २ का अध्यक्ष हेमन्त भण्डारी, राष्ट्रिय जनमोर्चाका गलकोट नगर संयोजक टंक केसी, गलकोट माध्यमिक विद्यालयका प्रधानध्यापक देबेन्द्र खत्री, सहभागी मसिना बोहोरा र दिव्या रानाले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिममा गलकोट नगरपालिका भित्रका वडा नं ७, ८, ९, १० र ११ का जनप्रतिनिधि महिला सदस्यहरु, विभिन्न संघ संस्थाका अगुवा महिलाहरु गरि ३० जनाको सहभागिता रहेको थियो । तालिममा महिलाको क्षमता अभिवृद्धी, सार्वजनिक उदघोषण लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।
तालिमको गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे, नेपाल पत्रकार महासंघ प्रदेश नं ४ का पार्शद थम्मन थापा सन्देश र सामुदायिक रेडियो गलकोट एफ एम का स्टेशन प्रमुख घनश्याम गौतमले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रम गलकोट सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसेको अध्यक्षता, तालिम प्रशिक्षक थम्मन थापा सन्देशको स्वागत मन्तव्य र केन्द्रका सदस्य योगेश भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।