कौरव खत्री, गुल्मी २०७४ माघ २४ । गुल्मीको एक प्राथमिक विद्यालयका लागि पूर्व विद्यार्थीहरुले विद्यालयमा कम्प्युटर शिक्षा सञ्चालनको लागि आर्थिक सहयोग गरेका छन् ।
मुसिकोट नगरपालिका वडा नं. १ पौदीअमराई ढाँणमा रहेको पौदी प्राथमिक विद्यालयमा कम्प्युटर शिक्षा लागू गर्नका लागि विद्यालयका ४५ जना पूर्व विद्यार्थीहरु मिलेर विद्यालयलाई नगद रु. १ लाख २० हजार आर्थिक सहयोग गरेको विद्यालयका शिक्षक चन्द्र बहादुर केसीले जानकारी दिए ।
सहयोग रकमले विद्यालयले ९२ हजार,७ सय,बराबर रकमको ३ थान कम्प्युटर र १ थान प्रिन्टर ल्याइएको र बाँकी बचत रकममा थप सहयोग जुटाएर र १ थान प्रोजेक्टर ल्याउने तयारी भएको समेत शिक्षक केसीले बताए ।
विद्यालयका विद्यार्थीहरुलाई समय अनुसारको अंग्रेजी माध्यमको शिक्षा र कम्प्युटरमय शिक्षाबाट विद्यार्थीहरुलाई सैदान्तिक तथा प्रयोगात्मक रुपमा दक्ष बनाएर शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले विद्यालयले नयाँ कार्यको थालनी गरेको विद्यालयका शिक्षक केसीले जानकारी दिए ।
हाल विद्यालयमा कक्षा १ देखि–५ सम्म ५१ जना विद्यार्थीहरुले अध्ययन गदै आएका छन् ।