गुल्मी, २०७४ फागुन २ । गुल्मीमा रहेको वीरभद्रजंग गुल्मले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर २ स्थित धागिथुम भगवती मन्दिर परिसरमा ६ वटा मन्दिर निर्माण गरेको छ । मन्दिर व्यावस्थापन समितिको अनुरोधमा झण्डै २ महिना लामो समय लगाएर नयाँ थप ६ वटा मन्दिर निर्माण गरिदिएको मन्दिर व्याबस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।
मन्दिर व्यवस्थापनको तर्फबाट नयाँ मन्दीर निर्माण गर्नको लागि सेनाबाट सहयोग मागेपछि गुल्मबाट खटिएको सेनाले मन्दिर निर्माणमा सहयोग गरेको थापाले बताए । मन्दिर निर्माणको लागि बिभिन्न ५ जना व्यक्तिबाट प्रति मन्दिरको निर्माण सामाग्रीलाई रु ६५ हजार सहयोग भएको थियो भने बाकी सेनाको श्रमदानबाट सम्पन्न भएको हो ।
मन्दिर निर्माणमा सेनाले सेनाले झण्डै २ महिना खर्चेको थियो । सेनाले निर्माण गरेका मन्दिरहरु झण्डै १४ लाख लागत बराबरको रहेको वीरभद्रजंग गुल्मले जनाएको छ । निर्माण गरेका ६ वटा मन्दिरह मध्ये ५ वटामा समितिले नयाँ मुर्तिहरु राख्ने र १ मन्दिरमा सेनाले मुर्ति राख्ने अध्यक्ष थापाले जानकारी दिए ।
यसैगरी सेनाले रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित सेउघा आधारभूत बिद्यालयमा शौचालय निर्माण गर्न सुरु गरेको छ । विद्यालयको लागी ४ कोठे पक्की शौचालय निर्माण गर्न सुरु गरेको बिद्यालय व्यास्थापन समितिका अध्यक्ष हरिलाल पन्थीले जानकारी दिए । बिद्यालयले जिल्ला शिक्षा कार्यालयबाट निर्माण खर्च सम्म उपलब्ध गराउने पहल पनि भएको अध्यक्ष पन्थीले बताए । निर्माण सामाग्री बाहेक अरुपुरै नेपाली सेनाबाट निर्माण हुँने शौचालय वालमैत्री र अपाङ्गमैत्री हुने छ । फागुन महिना भरिमा ४ कोठे पक्की शौचालय निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।