Sorry, that menu does not exist.
 

पन्चकोटमा चौथो महायज्ञ शुभारम्भ : जन्मस्थललाई तीर्थस्थलमा परिणत गर्दै स्वामी कमलनयनाचार्य !

किरण आचार्य, बागलुङ २०७४ फागुन ९ । श्री विश्वशान्ति सर्वसिद्धिधाम पन्चकोटमा आज फागुन ९ गते देखी चौँथो महायज्ञ शुभारम्भ भएको छ । निर्माण सुरु गरिएको चारै वर्षमा धार्मिक पर्यकटीय स्थलको रुपमा स्थापित सर्वसिद्धिधाम पन्चकोटमा चौँथो महायज्ञको शुभारम्भ हुँदा सम्म गरुडारुढ नारायण, गण्डकी माता मन्दिर, शीश महल, सत्संग भवन, हनुमानजीको सालिक मुर्ति, अतिथी गृह आदि निर्माण कार्य सम्पन्न भैसकेको छ भने बहुचर्चित १०८ फिट अग्लो विश्वशान्ति कलश निर्माणका लागि आवश्यक पूर्वाधार तयार भएको जानकारी दिईएको छ ।

पन्चकोट परिसरमा विभिन्न निर्माण कार्यहरु जारी रहेका छन् । सरकारी, गैह्रसरकारी निकाय, विभिन्न संघसंस्था एवं श्रद्धालु महानुभावहरुको सहयोगमा थुप्रै कार्यहरु बनिरहेका छन् भने पन्चकोट नजिकै रहेको मालिकामा गौवंश संरक्षण गर्ने उद्देश्यले गौशाला सन्चालनमा ल्याईएको छ ।

कार्यारम्भ भएको अल्पावधिमा नै विभिन्न नाममा बिभाजित अवस्थामा रहेका पाँच कोटहरुलाई पन्चकोट एकीकृत नामाकरण गरी यसै पावनभूमिमा जन्मलिएका अनन्त श्री विभूषित मुक्तिनाथ पीठाधिश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराजको सदिच्छानुसार धार्मिक तीर्थस्थलको रुपमा विकास गरी अहिलेको अवस्थामा आईपुग्दा सम्म पन्चकोटले देवस्थल, तीर्थस्थल एवं धार्मिक पर्यटकीय स्थलको रुपमा स्थापित भएकोमा सर्वत्र प्रशंसा गरिदै आएको छ । रोजाना आन्तरिक एवं बाह्य पर्यटकहरुको पन्चकोट अवलोकलनका लागि घुँईचो लाग्ने गरेको छ ।


२०७१ साल फागुन १ गते पहिलो महायज्ञ शुरु भएयता सालबसालीरुपमा महायज्ञ सन्चालन हुँदै आएको छ । समाजमा कुनै कार्यका लागी आवश्यक पर्ने अर्थसंकलन गर्न महायज्ञ सन्चालन गर्ने नेपाली प्रचलन नै छ । हिन्दुधर्ममा धनधान्याचल महायज्ञले विशेष धार्मिक महत्व राख्दछ । यसलाई केवल अर्थ संकलनको माध्यम बनाईनु जायज नहुने पनि तर्कहरु समय समयमा बाहिर आउने नगरेको होईन । धेरै धार्मिक महायज्ञहरु, आर्थिक पारदर्शीताको अभावका कारण विवाद/चर्चामा आउने गरेको तथ्यलाई मनन गरी अर्थ संकलनका लागी अरु कुनै विकल्प सर्वसिद्धिधाम पन्चकोटले सोँची रहेको विश्वास स्थानीयले लिएका छन् ।

आज शुभारम्भ भएको महायज्ञमा स्वामी कमलनयनाचार्य अनुपस्थित रहने आयोजकले जानकारी दिएका छन् । स्वामीजी फागुन ११ गते महायज्ञमा सरीक हुने पनि जानकारी प्राप्त भएको छ ।

आफ्नो जन्मस्थललाई तीर्थस्थलमा परिणत गर्ने स्वामी कमलनयनाचार्यको सत्प्रयासले छिटैनै साकार रुप लिनेमा कुनै आशंका छैन । स्वामीजीको यस सत्प्रयासमा सबै पक्षको सकारात्मक सोँच र सहयोग जारी रहेको हुँदा निकट भविष्यमै सर्वसिद्धिकाम पन्चकोटले पूर्णरुप पाउने निश्चित छ ।

तीब्र गतिमा धार्मिक पर्यटकीय स्थलको रुपमा विकास भैरहेको सर्वसिद्धिधाम पन्चकोटमा हिन्दुधर्ममा पूजिने सबै देवी-देवाताहरुलाई यथोचित स्थान दिईनु पर्ने बास्तविकतालाई यहाँ औँल्याउनु अन्यथा नहोला ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply