रबिना बोहरा, बागलुङ २०७४ फागुन १० । ताराखोला गाउँपालिका पशु सेवा शाखाको आयोजनामा गाउँपालिका स्तरीय निशुल्क पशु स्वास्थ्य शिविर बुधबारबाट सुरु भएको छ ।
वडा नम्बर १ मा आयोजित शिविरमा ७५ घरधुरीका ९ सय ७५ वटा पशुको गोबर जाँच गरी औषधी वितरण गरिएको थियो ।
ताराखोला गाउँपालिकाका ५ वटै वडामा रहेका विभिन्न पशुहरुको स्वास्थ्य जाँच गर्ने गरी वडा नम्बर १ बाट सुरु गरिएको हो ।
शिविरको उद्घाटन सत्रमा ताराखोला गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले ग्रामिण भेगमा रहेको पशुहरुको स्वास्थ्य सुधारका लागि शिविर सञ्चालन गर्न आवश्यक रहेको बताईन ।
गाउँमा विभिन्न रोगबाट ग्रसित बनेका पशुहरुलाई उपचार गराउन सदरमुकाम लैजान समस्या हुँदा दुग्ध संगै विभिन्न उत्पादनमा पनि गुणस्तर नहुने भएकाले समय समयमा गोबर परिक्षण गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा ताराखोला गाउँपालिकाका कार्यकारी प्रमुख तोपलाल भुषाल, जिल्ला पशु सेवा कार्यालय बागलुङ्गका पशु विकास अधिकृत निलकण्ठ शर्मा लगायतले आफनो विचार व्यक्त गरेका थिए ।
कार्यक्रम ताराखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष यामबहादुर श्रीषको अध्यक्षता, गाउँ स्तरीय पशु सेवा समितिका संयोजक धोजबहादुर गुरुङ्गको स्वागत मन्तव्य र कार्यक्रमका स्वास्थ्य संयोजक शंकर बिष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।
शिविरमा गोबर जाँच गर्दा पशुपंक्षीहरुमा नाम्ले, माटे, जुकाको लक्षण देखिएकाले उनीहरुको उपचारका लागि औषधी वितरण गरिएको थियो । ५ दिने शिविरमा जिल्ला पशु सेवा कार्यालय बागलुङ्गका पशु विकास अधिकृत निलकण्ठ शर्मा, पशु स्वास्थ्य प्राविधिक केशव पौडेल, पशु प्राविधिक पुष्पराज अधिकारी, रमा अर्याल, दुर्गाबहादुर श्रीष लगायतले सहजिकरण गर्ने जानकारी गराइएको छ ।