बागलुङ, २०७४ फागुन १० । काठेखोला गाउँपालिका ८ लेखानीमा सञ्चालित पाँच दिने उद्घोषण तथा पत्रकारिता तालिम बिहिवार सम्पन्न भएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ८ को कार्यालयले आयोजना गरेको तालिममा बोल्ने कला (कार्यक्रम सञ्चालन, भाषण कला) र ग्रामिण क्षेत्रबाट गर्न सकिने रिर्पोटिङका बारेमा जानकारी गराइएको थियो ।
ग्रामिण क्षेत्रमा आयोजना हुने बिभिन्न कार्यक्रममा उद्घोषण, भाषण गर्न र गाउँघरका बिभिन्न कार्यक्रम र गतिविधिलाई सञ्चार माध्यमको सहज पहुँचमा पु¥याउन स्थानीय महिला तथा युवाहरुको क्षमता अभिवृद्धि गर्ने अभिप्रायले तालिम आयोजना गरिएको काठेखोला गाउँपालिका ८ लेखानीका वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीसले जानकारी दिईन् । ‘गाउँका बिभिन्न कार्यक्रममा जाँदा कार्यक्रम सञ्चालन, व्यवस्थापन, भाषण गर्ने तौरतरिकामा धेरै समस्या देखियो,’ उनले भनिन्, ‘सार्वजनिक सभा, समारोह, बैठक लगायतका कार्यक्रम सञ्चालनमा अन्त निर्भर हुने अवस्था अन्त्यका लागि तालिम आयोजना गरेका हौ ।’
साविकको लेखानी गाविसका ९ वटा वार्ड मध्ये प्रत्येकबाट एक पुरुष र दुई महिला गरि २७ तथा स्थानीय जनप्रतिनिधिको समेत सहभागिता रहेको तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले गरेका थिए । तालिम समापन कार्यक्रममा बोल्ने अतिथी तथा सहभागीले तालिम प्रभावकारी भएको उल्लेख गर्दै अब व्यवहारिकतामा ल्याउन आवश्यक रहेकोमा जोड दिएका थिए ।
समापन कार्यक्रममा वडा अध्यक्ष चित्रकला छन्त्याल श्रीस, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष तथा तालिमका प्रशिक्षक दिल शिरीष, वार्ड सदस्य काशिराम कंडेल, सरस्वति प्रावि लेखानीका प्रधानाध्यापक दुर्गादेवी गुरुङ, सहभागीका तर्फबाट रुद्रप्रसाद श्रेष्ठ, कमला पुन लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव रिता राना पुनले गरेकी थिईन ।