सहज साकोसका सञ्चालकलाई सहकारी ऐन २०७४ सम्बन्धी प्रशिक्षण
कोपिला कंडेल, बागलुङ, २०७४ फागुन १३ । सहज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले संस्थाका सञ्चालक, सल्लाहकार, उप–समितिका सदस्य र कर्मचारीहरुका लागि सम्पत्ती सुद्धिकरण एवं सहकारी ऐन २०७४ सम्बन्धी प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न गरेको छ । सहकारी ऐन तथा सहकारी सम्बन्धी नीति नियमका बारेमा सहकारीको सञ्चालक र व्यवस्थापनलाई जानकारी गराई प्रभावकारी रुपमा अगाडि बढाउने उदेश्यका साथ प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सहज बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ ।
कार्यक्रममा हालै जारी भएको सहकारी ऐन २०७४ र सम्पत्ती सुद्धिकरण निवारण सम्बन्धी सहकारी संघ संस्थाहरुलाई जारी निर्देशन २०७४ तथा सहकारी नियमावली २०७४ का बारेमा राष्ट्रिय सहकारी बैङ्कका केन्द्रिय संचालक राम बहादुर जिसीले सहजीकरण गरेका थिए।
सहजीकरण गर्दै जिसीले सहकारी ऐन नियमावली, मूल्य मान्यता र सिद्धान्त अनुसार संचालन हुने सहकारीहरु मात्रै दिर्घकालिन रुपमा टिकाउ हुने बताए । सहकारीलाई प्रभावकारी बनाउनका लागि सहकारी ऐन २०७४ को पुर्ण कार्यान्वय गर्नुपर्ने भन्दै उनले नियम बिपरित संचालित सहकारीहरु जोखिमपुर्ण अवस्थामा रहेको उल्लेख गरे ।
सहकारी ऐन संस्था सञ्चालनका लागि धेरै सकारात्मक कुरालाई अगाडि बढाएको भन्दै जीसीले सहकारीलाई आफु अनुुकुल सञ्चालन गर्ने सञ्चालक तथा कर्मचारीलाई कार्वाहीको दायरा समेत बढेर आएको जानकारी दिए ।
सहकारीबाट कर्जा लिएर तिर्न पर्दैन भन्दै अलमल गरेकाहरुलाई ऐनले कालो सूचीमा राख्न सक्ने व्यवस्था गरेर सहकारीलाई सहज रुपमा सञ्चालन गर्न सहयोग गरेको पनि जीसीको भनाई थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार तथा जिल्ला वचत तथा ऋण सहकारी संघका सचिव ऋषिराम गौतमले सहकारीलाई व्यवहारिकताका नाममा नीति विपरित सञ्चालन गर्ने अवस्थाको अन्त्य नभए सहकारीका सञ्चालक र कर्मचारीहरु समस्यामा पर्ने भएकाले नीति अनुसार सञ्चालन गर्न आग्रह गरे ।
कार्यक्रम सहज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरी प्रसाद सापकोटाको अध्यक्षता, शिक्षा उपसमितिका संयोजक सन्तोष कुँवरको स्वागत र सचिव खडक थापाको सञ्चालन तथा सहसचिव हरीप्रसाद कंडेलको धन्यवाद मन्तव्यमा सम्पन्न भएको थियो ।