गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन १४ । पछिल्लो समय गल्कोट क्षेत्रमा कम उमेरमै बिबाह गर्ने केटाकेटीहरुको संख्यामा बृद्धि भएको छ । सानै उमेरका बालबालिकाले मोबाईल र सामाजिक सञ्जालको प्रयोगका कारण गल्कोट क्षेत्रमा उमेर नपुग्दै बिवाह गर्नेको संख्यामा बृद्धि भएको हो ।
बजार क्षेत्र मात्र नभएर गाउघरमा समेत सानै उमेरमै प्रेम बिबाह गर्ने समस्या दिनानुदिन बढ्दै गएको सरोकारबाला बताउछन । सामाजिक संजालमा भिडियो गेम, अश्लील कुराकानी एवं अश्लील यौनजन्य तस्वीरहरु हेरेर १२/१३ बर्षकाकेटाकेटीहरुवीच प्रेम सम्वन्ध हुने र विवाहमा बाँधिने गरेको गल्कोट नगरपालिका-२ का अध्यक्ष हेमन्त भण्डारीले बताए ।
भण्डारीका अनुसार गल्कोट क्षेत्रमा बाबुआमा बिदेशमा भएका कारण छोराछोरीलाई भनेजस्तो मोबाईल, ल्यापटप साथै मनग्गे पैसा दिने तर छोराछोरीले त्यसको प्रयोग सकरात्मक तरिकाले गरेका छन कि छैनन भनेर चासो नदिने गर्दा सानै उमेरमै बिवाह (लभ म्यारिज) गर्ने समस्या बढ्दै गएको बताए ।
गल्कोट क्षेत्रमा अधिकांश बिदेशमा भएका अभिभावकका छोराछोरी बालबिवाहको शिकार भएका छन । त्यस्तै घरमा भएका बाबुआमाले पनि छोराछोरीसँगै बसेर फेसबुक, टुईटर, युट््यूव चलाउने गर्दा बालबालिकाहरु पढाईतर्फ भन्दा सामाजिक सञ्जालतर्फ आकर्षित बन्न थालेको भण्डारीको बुझाई छ ।
सामाजिक सञ्जालको सकरात्मक प्रयोगले धेरै कुरा सिक्न सकिने भएपनि गल्कोटका अधिकांस बालबालिका सँगै युवायुवतीहरुमा नकरात्मक प्रभाव देखिने गरेको गल्कोट नगरपालिका ३ का वडाध्यक्ष वीरजङ भण्डारीले बताए ।
प्रत्येक ब्यक्तिको हात हातमा मोबाईल फोन र त्यसमाथी दुर्गम ठाउसम्म पनि ईमेल, ईन्टरनेटको सहज पहुच पुगेपछि यहाँका बालबालिका र युवायुवतीहरु रातभर अश्लील भिडियो तथा एसएमयस गरेर समय बताउने गरेका छन ।
त्यस्तै सामाजिक सञ्जालको दुरुप्रयोगका कारण बिवाहित महिला तथा पुरुष समेतलाई प्रभाव पारेको छ । यसको प्रयोगका कारण एक जना श्रीमानले २, ४ ओटा सम्म श्रीमति बिवाह गर्ने तथा महिलाहरु अर्कै सँग बिवाह गरि जाने गरेको सरोकारबालाको भनाई छ ।
सामाजिक सञ्जालको सकरात्मक प्रयोग गर्न जनचेतनामुलक कार्यक्रम गर्ने तथा बिद्यार्थीहरुलाई बिद्यालयमा सहि तरिकाले यसको सकरात्मक र नकरात्मक पक्षको बारेमा जानकारी गराउन आवश्यक भएको अध्यक्ष भण्डारीले बताए ।
त्यस्तै बिदेशमा भएका अभिभावकहरुले पनि आफना छोराछोरीलाई उनिहरुको माग अनुसारको सामाग्री उपलब्ध गराएपछि त्यसको प्रयोग सहि तबरले भएको छ कि नकरात्मक भनेर समयमै सचेत बन्नुपर्ने आवश्यकता महसूस हुन थालेको छ । पर्याप्त सचेतनाको अभावमा बालविवाहको कारण मातृशिशु दुबै नै जोखिममा पर्ने खतरा हुने गरेको छ । वालविवाहको कारण सम्बन्ध विच्छेद, रोजगारीको समस्या, उद्देश्यबाट विचलित, स्वास्थ्य समस्या, घरेलु हिंसाजस्ता समस्या खेप्नुपरेको छ । अहिलेको अवस्थामा कम उमेरमै विवाह गर्ने बढ्दो प्रचलनलाई रोक्न स्थानिय निकायले समेत बिशेष योजना बनाउनुपर्ने सरोकारबालाको भनाई छ ।