गुमानसिँह भण्डारी, गल्कोट २०७४ फागुन १५ । यस बर्ष गल्कोट क्षेत्रमा गहुँ उत्पादनमा कमी आउने भएको छ । बर्षा राम्रो नहुदा सिचाई नहुने खेतबारीको चिस्यानमा कमी आए पछि उत्पादनमा कमी आउने गलकोट नगरपालिकाका कृषि प्रमुख डीएन दाहालले बताए । खास गरी गल्कोटका आकासे पानीमा आश्रीत कृषकहरुको गहु खेती उत्पादनमा कमी आउने दाहालको भनाई छ । चिस्यान नभएपछि खेतबारीमा पानी लगाई सुख्खा खेतमा चिस्यान गराई गहु सिचाई गरे पनि समयमा बर्षात नभएका कारण अधिल्लो बर्षको तुलनामा करिब १० देखी १५ प्रतिशत उत्पादन घट्ने दाहालको भनाई छ ।
गल्कोट क्षेत्रमा धेरैजसो गाउघर भएका कारण गहुँ छरेपछि स्थानिय कृषकहरु आकाशे पानीको भरमा पर्ने गर्दछन । गाउघरमा सिचाईको समस्या भएका कारण किसानहरु खेतीका लागि आकाशे पानीमा निर्भर हुने अवस्थाले उनीहरुको खेतबारीमा यो समस्या आएको हो ।
गलकोट नगरपालिका भित्रको सबैभन्दा बढि अन्न उत्पादन हुने मजुवा फाँटमा पनि खोलाको पानीले सिचाई भए पनि बर्षात नहुदाँ गहु राम्रोसँग फस्टाउन नसकेको स्थानिय कृषकको भनाई छ । आजभोलिको बर्षातको पानीमा अन्नबालिलाई चाहिने नाईट्रोजनको मात्रा बढि हुने हुदाँ यतिखेरको पानी अन्नबालिका लागी उपयुक्त मानिन्छ । गल्कोटमा आईतबार असिना सहितको पानी परे पनि त्यसले केहि मात्र अन्नबालिका राहत पुगेको दाहालले बताए । अझै पनि गल्कोटमा प्रयाप्त मात्रामा पानी नआएको उनको भनाई छ । लामो समय सम्म पानी नपरेपछि किसानहरुले लगाएको गहुँ बालि सँगै तोरी, फापर, जौ र दाल बालिमा समेत ह्रास आउने गल्कोट नगरपालिकाको कृषि शाखाले जनाएको छ । गल्कोट क्षेत्रको हरिचौर, हटिया, नरेठाटी, मल्म, दुदिलाभाटी, काडेबास लगायतका क्षेत्रमा गहुँ उत्पादन राम्रो हुने गरेको छ ।