बागलुङ, २०७४ फागुन १५ । महिला बालबालिका तथा समाजकल्याणमन्त्री थममाया थापाले सरकारको अर्जुनदृष्टि आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्नमा केन्द्रीत रहने बताएकी छन् । नेकपा एमाले बागलुङले नवनियुक्त मन्त्री थापाको सम्मान तथा स्वागतमा मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।
उनले जनताले महसूस गर्ने गरी देशको आर्थिक विकास र सुशासन स्थापना नै सरकारको मार्गदर्शन भएकाले यसै अनुसार अगाडि बढ्न सबैलाई आव्हान गरिन् ।
हामीले राजनीतिक क्रान्ति सम्पन्न गरी सकेका छौ, अब आर्थिक समृद्धिको अभियानलाई सफल बनाउनका लागि सरकार केन्द्रीत हुने उनले बताईन । सरकारको पहिलो प्राथमिकता आर्थिक समृद्धि र सामाजिक न्याय स्थापित गर्नु हो, यसका लागि आवश्यक सबै क्षेत्रमा सरकार कडाईका साथ अगाडि बढ्ने पनि उनले बताईन । सरकारले लिएको लक्ष्य पुरा गर्नका लागि नेता कार्यकर्ताहरुको सक्रिय सहभागिता आवश्यक रहनु पर्नेमा उनको जोड थियो ।
पार्टीका नेता कार्यकर्ताको लामो समयको संघर्ष र जनताको सहयोगमा पहिलो पटक बामपन्थीहरुको स्पष्ट बहुमत सहितको सरकार बनेको भन्दै मन्त्री थापाले यो सरकारलाई सफल बनाउन बामपन्थी नेता कार्यकर्ताहरुले रचनात्मक र सिर्जनात्मक रुपमा सहयोग आवश्यक रहेको बताईन् ।
नीति निर्माण केन्द्रीय सरकारले गर्ने र त्यसको कार्यान्वयनका लागि प्रदेश र स्थानीय सरकारलाई प्रभावकारी बनाउने भन्दै थापाले जनतासंग प्रत्यक्ष सहभागिता भएर काम गर्ने स्थानीय सरकारको कामलाई सहज र प्रभावकारी बनाउने उल्लेख गरिन्।
बामपन्थीहरुको नेतृत्वमा बन्ने सरकारले जनताका पक्षमा निरन्तर काम गर्दै आएको स्मरण गराउदै मन्त्री थापाले पार्टीको नीति निर्देशन अनुसार अनुशासित तरिकाले गतिविधि सञ्चालन गर्न र सरकारलाई सहयोग गर्न पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह समेत गरेकी थिईन् ।
कार्यक्रम एमाले जिल्ला अध्यक्ष तथा प्रदेशसभाका सदस्य इन्द्रलाल सापकोटाको अध्यक्षता, उपाध्यक्ष कृष्ण पाठकको स्वागत र सचिव लालबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।