Sorry, that menu does not exist.
 

विद्यालयलाई सहयोग गरौ अभियानका लागि रेश नुन्थला माविमा समिति गठन

बागलुङ, २०७४ फागुन १७ । काठेखोला गाउँपालिका वडा नं. ७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि विद्यालयलाई सहयोग गरौ अभियान सञ्चालन गरिने भएको छ ।

विद्यालयको भौतिक पूर्वाधार निर्माणसंगै शैक्षिक विकासका लागि सो वडामा बस्ने लगायत देश विदेशका विभिन्न स्थानमा स्थायी वा अस्थायी बसोबास गर्नेहरुलाई लक्षित गरी विद्यालयको शैक्षिक विकासमा सहयोग जुटाउने उदेश्यले अभियान सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

अभियान अन्तरगत विद्यालयले जनताको प्रत्यक्ष सहभागिता र सहयोग रहने गरी योजना निर्माण गरेको र उक्त योजना अनुसार अगाडि बढ्न अभिभावक र वडावासी जनसमुदायले सुझाव दिएको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए ।

विद्यालयमा बुधवार सम्पन्न अभिभावक भेलाले विद्यालयलाई सहयोग गरौ अभियान सञ्चालनका लागि १ सय ७१ सदस्यीय समिति गठन गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा वडाका जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारी सदस्यहरु, राजनीतिक दलका प्रमुखहरु, स्थानीय सामुदायिक वन समुहका अध्यक्षहरु, आमा समुहका अध्यक्षहरु, क्लवका अध्यक्षहरु, साविक रेश गाविसबाट बागलुङ बजार लगायत विभिन्न स्थानमा गई स्थायी वा अस्थायी बसोबास गरेका प्रतिष्ठित व्यक्तिहरु सदस्य रहने विद्यालयले जनाएको छ ।

भेलामा बोल्दै काठेखोला गाउँपालिका वडा नं. ७ का अध्यक्ष प्रेम लामिछानेले विकासको जग शिक्षा भएकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सबैको सहयोग र समन्वयमा जोड दिए । शिक्षालाई व्यवहारिक र श्रम बजारमा खपत हुने खालको शिक्षाको विकास गर्नका लागि भौतिक लगायत शैक्षिक गुणस्तर माथि उठाउन आवश्यक रहेको र त्यसका लागि सरोकारवालाहरुबीच समन्वय आवश्यक हुने बताए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनबहादुर थापाको अध्यक्षता र प्रधानाध्यापक ओमबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply