सुमन जि.सी, पर्वत २०७४ फागुन १९ । जलजला गाउँपालिका वडा नं. ७ पर्वतमा स्थापित मार्कण्डय उद्यमशील सहकारी संस्था लि. को आयोजनामा शनिवार १ दिने सहकारी शिक्षा तालिम सम्पन्न भएको छ ।
संस्थाका सञ्चालक समिति, उपसमिति, सदस्य र कर्मचारीहरुको सहकारी सम्वन्धि क्षमता अभिबृद्धि गर्ने अभिप्रायले आयोजना गरिएको तालिमको उद्घाटन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनका सञ्चालक एवं तालिमका सहजकर्ता चण्डिप्रसाद शर्मा पौडेलले गरेका थिए ।
उद्घाटन सत्रलाई सम्वोधन गर्दै पौडेलले सहकारी भनेको जीवन पद्धतीको एउटा आधार भएको बताएका थिए । नेपालीहरुमा बचत गर्ने वानीको विकास नभएकाले वित्तीय साक्षरता मार्फत सबैमा बचत गर्ने बानीको विकास गराउनुपर्ने पौडेलको भनाई थियो । पौडेलले नेपालीहरु धनी हुने हो भने सरकारले बचतको राष्ट्रिय नीति ल्याउन आवश्यक रहेको समेत बताएका थिए ।
उद्घाटन सत्रमा दिदीवहिनी साकोस म्याग्दीका पूर्व अध्यक्ष एवं सहकारीकर्मी जमुना आचार्य, संस्थाका उपाध्याक्ष अनीता कुमारी आचर्या लगाएतले मन्तव्य राखेका थिए ।
तालिम कार्यक्रममा प्रशिक्षक पौडेलले सहकारी के हो ? यसको अर्थ, परिभाषा, सिद्धान्त, मुल्य मान्यताहरु, शेयर, बचत, ऋण र सहकारी ऐन २०७४ मा भएका व्यवस्थाहरुको बारेमा सहजिकरण गरेका थिए ।
२०७२ पौष १५ गते स्थापीत सहकारी संस्थामा हालसम्म २०८ जना सदस्य, २५ लाख ९३ हजार शेयर, १७ लाख ४१ हजार बचत, ४३ लाख ६४ हजार लगानीमा वाँकी ऋण, ३ लाख १७ हजार कोष र ५५ लाख बरावरको कारोवार रहेको छ ।
८५ जनाको उपस्थित रहेको तालिमको अध्यक्षता संस्थाका अध्यक्ष भविसरा वि.क. र सञ्चालन सचिव विसमाया पुनले गरेकी थिईन ।