बागलुङ, २०७४ फागुन २० । साबिक धौलागिरि अञ्चलको पहिलो टेलिभिजनका रुपमा स्थापित धौलागिरि टेलिभिजनले आफ्नो सेवालाई प्रदेश नं. ४ मा विस्तार गर्ने भएको छ । टेलिभिजन प्रालिको शनिवार सम्पन्न चौथो वार्षिक साधारणसभाले टेलिभिजनको सेवालाई विस्तार गरी प्रदेश स्तरीय बनाउने निर्णय गरेको हो ।
सूचना र सञ्चारमा धौलागिरिको आयाम, समृद्ध समाज निर्माण हाम्रो अभियान भन्ने नाराका साथ धौलागिरि अञ्चलवासीलाई सेवा दिने उदेश्यका साथ २०७० असोज १९ गते परिक्षण प्रशारण शुरु गरी चैत २ गतेदेखि औपचारिक रुपमा सेवा प्रारम्भम गरेको टेलिभिजनले यसै आर्थिक वर्षदेखि प्रदेश नं. ४ का सबै जिल्लामा सेवा विस्तार गर्न लागेको हो ।
सूचना र सञ्चारको क्षेत्रमा फरक पहिचानका साथ अगाडि बढेको टेलिभिजनले प्रदेश नं.४ को आर्थिक, सामाजिक विकाससंगै सांस्कृतिक रुपान्तरणका क्षेत्रमा योगदान गर्ने लक्ष्य लिएको जनाइएको छ ।
साधारणसभाले प्रालिका सचिव रामबहादुर जिसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष अशोककुमार श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार कमलप्रसाद श्रेष्ठ र नवराज पौडेल, लेखा समितिका संयोजक सिद्धार्थमिलन श्रेष्ठ, सदस्य तथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, कार्य समिति सदस्यहरु मनोज श्रेष्ठ र सुन्दर श्रेष्ठ, प्रवन्ध सञ्चालक प्रकाश पौडेल, लेखा सदस्य केशव सुवेदीले टेलिभिजनलाई थप प्रभावकारी बनाउने विषयमा आ–आफ्नो भनाई राखेका थिए । टेलिभिजनको कार्यक्षेत्र संगै यसको प्रभावकारितालाई समेत ध्यान दिदै प्रदेश सदरमुकाममा समेत कार्यालय राखेर सेवा दिने योजना रहेको प्रालिले जनाएको छ ।
कार्यक्रम धौलागिरि टेलिभिजन प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष दयाराम पौडेलको स्वागत र सचिव रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
शुरुमा बिहान ६ बजेदेखि राति १० बजेसम्म प्रशारण हुदै आएको धौलागिरि टेलिभिजन विगत २ वर्षदेखि २४ सै घण्टा प्रशारण भैरहेको छ । विकास निर्माण, सचेतना लगायत स्थानीय सरोकारका विषयमा केन्द्रीत भएर सेवा प्रदान गर्दै आएको टेलिभिजनले प्रदेश स्तरमा सेवा विस्तार गरेपछि पनि सबैको सहयोग र सद्भाव यसरी नै प्राप्त अपेक्षा राखेको प्रालिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।