बागलुङ, २०७४ फागुन २५ । बरेङ गाउँपालिका वडा नं. १ बरेङ बजारमा सञ्चालित बिहानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालकहरुलाई सहकारी ऐन २०७४ सम्बन्धी सचेतना कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।
कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले सहकारी मार्फत आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारीका ऐन नियमलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए । सहकारीलाई राज्यले अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भका रुपमा लिएकोले यसलाई शसक्त बनाउनका लागि व्यवसायिक योजनाका साथ अगाडि बढ्न र ऐन नियमको कार्यान्वयन गर्न जिसीको सुझाव थियो । सहकारीलाई व्यवस्थित गराउनका लागि सञ्चालकहरु क्षमतावान, कर्मचारी दक्ष र सदस्यहरु सक्रिय हुनु पर्नेमा उनले जोड दिए ।
कार्यक्रम संस्थाका अध्यक्ष पूर्णबहादुर पुनको अध्यक्षता, उपाध्यक्ष केयरसिंह पुनको स्वागत र सचिव विमल प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।
बिहानी बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो उदेश्य अनुसार बचत तथा ऋण सहित पोलिक्लिनिक, बिहानी एफएम, कृषि भण्डार, रेमिट्यान्स लगायतका कार्य सञ्चालन गदैँ आएको छ ।