बुर्तिवाङ २०७४ फागुन २६ । बुर्तिबाङ बजारमा नयाँ वर्ष २०७५ सँगै आयोजना गर्न लागिएको ढोरपाटन महोत्सव २०७५ को तयारी तीब्र पारिएको छ । यसै सन्दर्भमा शुक्रवार सञ्चालन सचिवालय समितिको बैठक सम्पन्न भएको छ ।
महोत्सव सञ्चालनका लागि गठन गरिएको सचिवालय समितिको बैठकले हिजो महोत्सव सञ्चालन प्रस्तावना पत्र अनुमोदन, कार्यक्रम तथा त्यसको व्यवस्थापन पक्षमा निर्णय गरिएको आयोजक संस्था उद्योग बाणिज्य संघ इकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणी शर्माले ईबागलुङलाई बताए ।
बैठकपछि स्थानीय पालिका स्तरीय बैठक बस्न पालिकाका प्रमुख तथा अध्यक्षहरुलाई जिम्मेवारी समेत दिइसकिएको बताउदै अव त्यसलाई मूल आयोजक समितिव्दारा अनुमोदन गरिने अध्यक्ष शर्माले बताए ।
यस अघि महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि पश्चिम क्षेत्रका ४ वटै पालिकाका प्रमुख तथा अध्यक्ष सहितको संयुक्त बैठक भइसकेको छ । महोत्सवको ढोरपाटन नगरपालिका मुख्य प्रवर्धक रहने छ भने सह—आयोजकमा जिल्ला समन्वय समिति बागलुङ, बागलुङ उद्योग वाणिज्य संघ तथा पश्चिम बागलुङका तमानखोला, निसीखोला र बडीगाड गाउँपालिका रहने छन् । यस्तै बुर्तिबाङमा गठन भएका वस्तुगत समितिहरु समेत सह आयोजकका रुपमा रहने भएका छन् ।
पश्चिम बागलुङ स्तरीय कृषि पर्यटन तथा औद्योगिक व्यापार मेला एवं ढोरपाटन महोत्सव २०७५ बुर्तिबाङ नामांकन गरिएको उक्त महोत्सवमा स्थानीय कृषि उपज, पशु तथा पशुजन्य बस्तु पर्दशनी, हस्तकला, शिल्पकला तथा स्थानीय कला संस्कृतिको संरक्षण एवं उद्योग व्यापारको पर्वद्धन गर्ने उद्देश्य रहेको छ ।
यसैबीच आज आयोजक संस्था उद्योग वाणिज्य संघ इकाईका पदाधिकारी, बस्तुगत संघका संयोजक एवं अध्यक्ष र महोत्सव सञ्चालन सचिवालय समितिको बैठक बस्ने भएको छ । बैठकले मूल आयोजक समिति गठन तथा विभिन्न उपसमितिहरु समेत गठन गर्ने, प्रस्तावना पत्र पारित गर्ने कार्यक्रम रहेको अध्यक्ष शर्माले बताए ।
महोत्सवमा खुल्ला पुरुष तथा महिला भलिवल, राष्ट्रिय ताराखेल, खुल्ला लोकदोहोरीगीत, ४ नं. प्रदेश स्तरीय मेन्स डवल्स व्याडमिन्टन, खुल्ला पञ्चेवाजा, राष्ट्रिय सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनशीप, महिला÷पुरुष छेलो, खुल्ला माध्यमिक तह स्तरीय वक्तृत्वकला, खुल्ला हाजिरीजवाफ, खुल्ला रस्साकस्सा र खुल्ला कविता प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवर्धक, मुख्य प्रायोजक, सह प्रायोजक, तथा विभिन्न प्रायोजकहरु सहयोगी संस्थाका रुपमा रहने भएकाछन् । बैशाख १ गतेदेखि ७ गतेसम्म चल्ने महोत्सव सञ्चालनका लागि ६० लाख खर्च लाग्ने स्टेमेट तय गरिएको सचिवालय समितिले बताएको छ ।