सुमन सुनार, बुर्तिबाङ २०७४ फागुन २७ । निसीखोला गाँउपालिकाले गाँउपालिका स्तरका बृद्ध, बृद्धा तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरि गाँउमै नागरिकता तथा परिचयपत्र वितरण कार्य सुरु गरेको छ । विशेष गरि बृद्ध, बृद्धा, अशक्त, अपाङ्गता भएका नागरिक, एकल महिला तथा कुनै समस्याका कारण नागरिकता तथा परिचयपत्र लिन नसकेका नागरिकलाई लक्षित गरि गाँउपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए । एकिकृत सेवा केन्द्र बुर्तिबाङ र महिला तथा बालबालिका केन्द्र बागलुङले गाँउमै पुगेर नागरिकता तथा अपाङ्गता परिचयपत्र वितरण गरेको छ ।
यसैविच आज गाँउपालिकाको झिवाखोलामा एक कार्यक्रमको आयोजना गरि वडा नं. २, ३, ४ र ५ मा वितरण गरिएको गाँउपालिका अध्यक्ष पौडेलले बताए । जसअन्तर्गत २२ महिला र १३ पुरुष गरि ३५ जनालाई नागरिकता वितरण गरिएको एकिकृत सेवा केन्द्र बुर्तिबाङका प्रमुख जनक थापाले बताए ।
यस्तै अपाङगता भएका नागरिक तर्फ १९ महिला र २९ पुरुष गरि ४८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका केन्द्र बागलुङकी प्रतिनिधि सरस्वती रेग्मीले बताईन् । जसअनुसार ‘क’ वर्गका ८ जना, ‘ख’ वर्गका १४ जना, ‘ग’ वर्गका १६ जना र ‘घ’ वर्गका १० जना रहेको रेग्मीले बताए ।
यस्तै भोलि वडा नं. १ र ७ मा वितरण गरिने गाँउपालिकाका अध्यक्ष पौडेलले बताएको सहकर्मी मिलन हमालले जनाएका छन् । ।