कृष्ण कँडेल, बागलुङ २०७४ फागुन ३० । ताराखोला गाउँपालिका अन्तरगत पर्ने पाँच वटै वडाका स्थानीय नागरिकलाई लक्षित गरि गाउँपालिकाको केन्द्र भातखाने डाँडामा दुई दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ ।
चैत २ र ३ गते चल्ने शिविरमा विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुबाट चेकजाँच र उपचार हुने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले ईबागलुङलाई जानकारी दिए । ‘यहाँका वासिन्दालाई सुलभ रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उदेश्यले विभिन्न संघ संस्थासँग मिलेर निशुल्क स्वास्थ्य शिविर गर्न लागेका छौँ,’ गाउँपालिका अध्यक्ष घर्तीले भने, ‘चेकजाँच, उपचार, औषधि लगायतका सबै स्वाथ्यसेवा कुनै शुल्क नलिईकनै दिने व्यवस्था गरेका छौँ ।’
हाडजोर्नी विशेषज्ञ प्राध्यापक डाक्टर रविन्द्रप्रसाद श्रेष्ठ, हाड तथा नसा रोग विशेषज्ञ डाक्टर ईश्वर शर्मा कँडेल र फिजिसियन तथा मधुमेह रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्यायले सेवा दिनेछन् । त्यस्तै वालरोग विशेषज्ञ नवराज सुवेदी, स्त्रीरोग विशेषज्ञ डाक्टर रिता श्रेष्ठ र कृपा शेरचन तथा नाक–कान–घाँटी रोग विशेषज्ञ डाक्टर बृहस्पती सिग्देलले समेत चेकजाँच तथा उपचार गर्ने कार्यक्रम तय भएको छ ।
शिविरमा भिडियो एक्सरे सेवा पनि प्रदान गरिने आयोजकले जनाएका छन् । विशेषज्ञ सेवासहितको निशुल्क स्वाथ्य शिविर सञ्चालनको लागि ताराखोला गाउँपालिकाले समन्वय गरेको हो । लायन्स क्लव पोखरा, ग्रीन सिटी क्लव पोखरा र फेवा सिटी क्लव पोखराले संयुक्त रुपमा आयोजना गरेको शिविरका लागि गण्डकी मेडिकल कलेज पोखाराले प्राविधिक सहयोग गरेको छ ।
शिविरमा विहान ७ बजेदेखि नै सेवा सुरु हुने छ । शिविर सम्पन्न गर्नका लागि स्थानीय आमा समुह, स्वास्थ्यचौकी, सामुदायिक वन, क्लव लगायतका संघ संस्थाले स्थानीय व्यवस्थापनको काम गर्ने गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत टोपलाल भुषालले जानकारी दिए । शिविरमा पुगेर आवश्यकता अनुसारको सेवा लिई मौकाको फाईदा उठाउन आयोजक संघसंस्थाले स्थानीय नागरिकलाई अपिल गरेका छन् ।