प्रशान्त घर्तिमगर, बुर्तिबाङ २०७४ फागुन ३० । ढोरपाटन नगरपालिकाले भोलिबाट सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिक अन्तरगत निकासा भएको सामाजिक सुरक्षा भत्ता नगरपालिकाको वडा नं. ८ बाट वितरण गरिने भएको हो ।
वडा नंं ८ का विभिन्न वर्गका ८७९ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नको लागि रु ३२ लाख ४ हजार ४ सय निकासा गरिएको सचिव कमलप्रसाद कँडेलले जानाकारी दिए । सामाजिक सुरक्षा भत्ता वितरणका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएकाले सामाजिक सुरक्षा भत्ताको लागि वडा कार्यालयमा उपस्थित भैदिन कँडेलले सम्बन्धित सवैलाई आग्रह गरेका छन् ।
चालु आर्थिक बर्षको दोस्रो चौमासिक अन्तरगत सामाजिक सुरक्षा भत्ताको लागि ढोरपाटन नगरपालिकामा रु १ करोड ८५ लाख ४ हजार २ सय विनियोजन भएको नगरपालिकाले जनाएको छ । दास्रो चौमासिकका लागि वडा नं. १ मा ४०० जना, २ मा ३४८, ३ मा ४५६ र ४ मा ७४८ जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सचिव कँडेलले बताए । त्यस्तै वडा नं. ५ मा ५०५, वडा नं. ६ मा ५८१, वडा नं. ७ मा ३०९ र वडा नं. ९ मा ४७७ जनाले सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छन् ।
नेपाल सरकारले जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका नागरिकहरुका लागि प्रति चौमासिक रु ८ हजार, दलित जेष्ठ नागरिक र एकल महिलाहरुका लागि प्रति चौमासिक रु ४ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने गर्दछ । त्यस्तै आशिंक अपाङ्गता भएका नागरिकहरुका लागि २ हजार ४ सय र दलित बालबालिकाहरुको लागि १ हजार ६ सय उपलब्ध गराउने गरेको छ ।
उता, नगरपालिकाका ९ वटै वडाको कार्यसम्पादन गर्न १ जना मात्र सचिव भएपछि सेवाग्राहीलाई समस्या भएको नगरपालिकाले जनाएको छ । अहिले ढोरपाटन नगरपालिकामा साविक अधिकारीचौरका गाविस सचिव कमलप्रसाद कँडेल एक्लैले सवै वडाको जिम्मेवारी सम्हालेका छन् । सवै वडाको कार्यसम्पादन आफु एक्लैले गर्दा कार्यालय समयभन्दा अघि पछिपनि काम गर्नुपरेको कँडेलले गुनासो गरे । ढोरपाटन नगरपालिकामा मात्र नभएर अन्य स्थानीय तहहरुमा कर्मचारी व्यवस्थापनमा ढिलाइ भएकोले जिल्ला समन्वय समितिसँग कर्मचारी व्यवस्थापनको लागि पहल गरिने नगरपालिकाका प्रवक्ता दिपक थापाले बताए ।