खिमलाल पाण्डे, युएई २०७४ चैत १, (१५ मार्च २०१८) । बागलुङ सेवा समाज युएईले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुंगाना युएई आई पुगेका छन् । युएईको शारजहा अन्तर्राष्ट्रिय विमान स्थलमा समाजका पदाधिकारीहरु याम पुन, कृष्ण केसी , जी एन शर्मा लगाएतले उनलाई स्वागत गरेका थिए ।
रोजगारिका लागि युएई पुगेका बागलुङवासी एवं सम्पूर्ण नेपालीहरुको अबस्था अनि बिभिन्न समस्या बारे बुझ्नको लागि प्रमुख ढुंगाना युएई आइपुगेको बताईएको छ ।
प्रमुख ढुंगाना, बागलुङ सेवा समाज युएईले आयोजना गरेको ‘प्रवासी नेपालीहरु स्वदेश फिर्ता – अवसर र चुनौती’ बिशेष अन्तरक्रिया कार्यक्रमको साथै चैते दशैँ महोत्सव तथा बिशेष सांस्कृतिक कार्यक्रम २०१८ मा सहभागी हुने समाजका सल्लाहकार याम पुनले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा सहभागी हुन प्रमुख ढुंगानाले बागलुङ जिल्लाका बारेमा पन्ध्र बुँदे आधारपत्र लिएर युएई आएको जानकारी दिँदै आधारपत्रमा निम्न विषय समावेश गरिएको बताईएको छ ।
‘बागलुङ जिल्ला नक्साका हिसाबले मिनी नेपालको नामबाट चिनिनुका साथै झोलुङ्गे पुलको जिल्ला भनेर पनि चिनिन्छ । साथसाथै विकासका हिसाबले थुप्रै सम्भावनाहरु बोकेको जिल्ला पनि हो । बागलुङको सिरमा सालझण्डीदेखि ढोरपाटन जोड्ने सडक, यसको पाउमा कालीगण्डकी कोरिडोर र यसको बीच भागबाट पुरै पूर्व–पश्चिम मध्य–पहाडी लोकमार्ग जस्ता तीन वटा ठुला राजमार्गहरु निर्माणाधीन अवस्थामा छन् । त्यस बाहेक प्युठान, गुल्मी, म्याग्दी र पर्वत जोड्ने र अन्य भित्री महत्वपूर्ण सडकहरु पनि छँदैछन् ।
बडीघाट र कालीगण्डकी बागलुङको सबभन्दा ठुला जलश्रोत हुन् । उर्जाखोलाको नामले चिनिने ठेउलेखोला पनि उर्जाको महत्वपूर्ण श्रोत हो । उत्तरगङ्गाको साढे आठ सय मेगावाटको विद्युत परियोजना निर्माणको प्रक्रिया अगाडि बढी रहेको छ । दरमखोला लगायत जिल्लाका प्रशस्त जलश्रोतहरुलाई प्रयोग गर्न सकिन्छ । ढोरपाटन शिकार आरक्ष विश्वकै नमूना शिकार आरक्ष हो । यो ठुलो पर्यटकीय गन्तव्य बनाउने सम्भावना बोकेको क्षेत्र पनि हो । धार्मिक पर्यटनका हिसाबले कालिका भगवति मन्दिर, भैरवस्थान, माइकास्थान, सत्यवति मन्दिर,पञ्चकोट सर्वसिद्ध धाम, त्यस्तै घुम्टेको लेक, हाँडीकोटको धुरी, गाजाको दह, बराहताल, भकुण्डेताल लगायतका क्षेत्रहरु पनि प्रशिद्ध धार्मिक तथा पर्यटक भित्राउने सम्भावना बोकेका स्थलहरु हुन् । जटामसी, यार्सागुम्बा, सतुवा, बिखमा जस्ता जडीबुटी प्रशोधनको सम्भावनाका साथै पहाडे कागज जस्ता वस्तुहरुको प्रशस्त सम्भावना बोकेका क्षेत्रहरु बागलुङमा छन् ।
बागलुङका दशवटै स्थानीय तहमा कृषि, भेटेनरी, प्राविधिक, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा प्राविधिक जनशक्ति उत्पादन गरी यिनै क्षेत्रमा जनशक्ति खपत गर्ने कार्ययोजना र लगानी गर्ने प्रारम्भिक तयारी विज्ञहरु सहितको एक टोलीले तयारी थाली सकेको छ । स्थानीय सरकार, निजी क्षेत्रको संयुक्त पहलमा समग्र बागलुङ जिल्लाको प्रोफाइल तयार गरी कार्यारम्भ गर्ने तयारी समेत काम भएको छ ।
स्थानीय सरकारले विदेशमा कमाइ गरी रहेका नेपालीहरुको सल्लाह, सहमति र सहभागितामा कम्पनी ऐन अन्तर्गत सहकारीको माध्यम वा अन्य विधिबाट सामूहिक कोष निर्माण गरी त्यो त्यो कोष परिचालन गर्ने गरी युवाहरुलाई स्थानीय रूपमा रोजगारी सृजना गर्ने र युवाहरुलाई विभिन्न उत्पादनमूलक काममा लगाउन सकिन्छ ।’
युएईमा आयोजना गरिएको कार्यक्रमहरुमा प्रमुख ढुंगानाको सहभागिता सफल एवं उपलव्धिमुलक हुने समाजका पदाधिकारीहरुले विश्वास गरेका छन् ।