किरण आचार्य, बागलुङ २०७४ चैत २ । धार्मिक दृष्टिकोणले अति नै महत्वपूर्ण मानिने पवित्र कालीगण्डकी नदीको दोहन जारी छ । कालीगण्डकीको पवित्र जल दिन प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीको जलमात्रापनि दिनपरदिन घट्दो छ । मुक्तिनाथ देखी कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ ।
काली गण्ककीको पवित्र जल सिँचन गरेर सिद्धि प्राप्तिको अभिलाषा राख्ने श्रद्धालुहरुनै जलप्रदुषणको कारक बनिरहेका छन् । दाहसँस्कारका लागी नदी तटमा ल्याईने शवहरुको उचित व्यवस्थापन नहुँदा नदीनै दुगन्र्धित एवं प्रदुषित बन्न पुगेको छ । नदी किनारका ढुंगा र बालुवा उत्खनन गर्दा कालीको मुटु नै छेदन गर्ने गरी डोजरको प्रयोगबाट कालीगण्डकी छियाछिया बनेको छ गहिरिदै गएको छ । यसरी चारैतिरबाट कालीगण्डकी नदीको पवित्रता माथी आक्रमण भैरहेको छ ।
कालीगण्डकी मुस्ताङको सदरमुकाम माथि देखिनै डम्पिङ साईटको रुपमा प्रयोग गरिएको छ, चाहे त्यो जोमसोम चाहे त्यो तातोपानी, बेग रहुघाट या बेनी सदरमुकाम नै किन नहोस तय बजार क्षेत्रको फोहोर मैला काली नदीमा नै फ्याक्ने चलन कायम नै छ । एकातिर प्रशिद्ध जल भनेर कालीगण्डकीको पानीलाई सिँचन गरिरहेका छौँ भने अर्कोतिर मलमुत्र फोहोर मैला प्लाष्टिक जन्य पदार्थहरु त्यहि पवित्र कालीमा बगाईरहेका छौँ । मानवको यो व्दैध चरित्र या स्वभावले कालीगण्डकी नदी प्रताडित बनेको छ ।
स्थानियहरु दुई दशक पहिलाको नदी र अहिलेको नदीमा धेरै फरक पाइएको र तत्काल यसलाई प्रदुषण मुक्त गराउनको लागि सम्बन्धित निकायले चासो दिनु पर्ने बताउदै आएका छन् । काली किनारमा रहेका सदरमुकाम, बजार, गाउँहरुबाट कालीलाई जोगाउन स्थानीय निकायहरुको जिम्मेवारी रहन्छ ।
अनियन्त्रित रुपमा काली गण्डकीबाट ढुंगा बालुवा निकाल्न दिने हो भने निश्चित छ, केहि समय भित्रै कालीगण्डकीको स्वरुप कल्पना गरेभन्दा धेरै फरक हुने छ । त्यसैले सरोकारवाला निकायहरुले बेलैमा जथाभावीरुपका कालीको उत्खनन् गर्न रोक्नु पर्छ । जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला समन्वय समिति लगायत स्थानीय निकाय, आम नागरिकले कालीलाई प्रदुषणमुक्त बनाउन सक्रिय रहनु पर्ने देखिन्छ । यसलाई अभियान कै रुपमै सन्चालन गरिनु पर्ने अहिलेको टड्कारी आवश्यकता रहेको छ ।