Sorry, that menu does not exist.
 

बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको सातौँ बार्षिक साधारण सभा सम्पन्न !

सुमन सुनार, बुर्तिवाङ २०७४ चैत ३ । ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाको सातौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज बुर्तिबाङमा आयोजना गरिएको साधारण सभाको उद्घाटन कार्यक्रममा सहकारी संस्थाकी अध्यक्ष रत्ना शेरचनको अध्यक्षता रहेको थियो भने एकिकृत सेवा केन्द्र बुर्तिबाङका नायव सुब्बा लोक बहादुर कुँवरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नायव सुब्बा कुवँरले सहकारीले समाजमा पिछडिएका, हिंसामा परेका, गरिव तथा विपन्न परिवारका महिलाहरुलाई आर्थिक रुपमा सवल गराउनका निम्ती निकै महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी ब्यक्त गरे । उनले सहकारीहरु नाफामुखी मात्र नभएर सेवामुखी हुन आवश्यक रहेको बताए ।

यस्तै कार्यक्रमका अन्य बक्ताहरुले सहकारी मार्फत महिला सशक्तीकरणका लागी गरिएका ऋण लगानीलाई महिलाहरुले सहि ठाँउमा लगानी गर्न आवश्यक रहेको बताएका थिए । महिला हिंसा अन्त्यका लागी सर्बप्रथम महिलाहरु आफु आफैमा सक्षम र शिक्षित हुन आवश्यक रहेको भन्दै बक्ताहरुले, महिलाहरु चुलो चौकोमा मात्र सिमित नभएर आयआर्जन मुलक काम र सामाजिक क्षेत्रमा पनि अग्रसर हुन आवश्यक रहेको बक्ताहरुले बताएका छन् ।
कार्यक्रममा बुर्तिबाङ महिला बचत तथा ऋण सहकारी संस्थाकी पुर्व अध्यक्ष तथा सल्लाहकार दुर्गादेवी घर्ती, सह–सचिव दिलमायाँ पौवी, सामुदायिक रेडियो ढोरपाटनकी सञ्चारकर्मी मिनु विसी लगायतले बोलेका थिए ।

यस्तै कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख कृष्ण राना, रेडियो बुर्तिबाङकी स्टेशन म्यानेजर झरणा कँडेल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सहकारीका महिला सेयर सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।
सभामा सञ्चालक समितिका कोषाध्यक्ष धन कुमारी कँवरले प्रगती प्रतिबेदन प्रस्तुत गरेकी थिईन । कोषाध्यक्ष कुँवरका अनुसार संस्थाको आर्थिक वर्ष २०७३÷०७४ को असार मसान्त सम्ममा सेयरपुँजी २ लाख ५९ हजार, लगानी १२ लाख ८४ हजार ५०, आम्दानी २ लाख ५ सय ५२, खर्च १ लाख ९१ हजार २ सय ५६, बचत २ लाख २७ हजार ९ सय र मुनाफा ३० हजार रहेको छ ।

गीता कुमारी शर्माको स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन सचिव लिल मायाँ पुनले गरेकी थिईन ।

सहकारी मार्फत स्रोतमा बृद्धि महिला हिंसाको अन्त्य गरि जिवनमा समृद्धि भन्ने मुल नाराका साथ २०६७ सालमा स्थापना भएको उक्त सहकारी संस्थाले बुर्तिबाङ क्षेत्रका ग्रामिण भेगमा रहेका कमजोर र निम्न आय भएका तथा घरेलु हिंसाबाट पिडित महिलाहरुको आर्थिक रुपान्तरणका साथै महिला माथी हुने हिंसात्मक क्रियाकलापको अन्य गर्नका लागी अहम भुमिका खेल्दै आएको छ ।

हिंसामा परेका महिलाहरुको उद्धारका निम्ती संस्थाद्धारा अल्पकालिन महिला सेवा केन्द्र बुर्तिबाङ पनि सञ्चालन गरिएको छ । सेवा केन्द्रमा दर्ता हुने विभिन्न घटनाहरुको ईलाका प्रहरी कार्यालय बुर्तिबाङ संगको सहकार्यमा छानविन तथा मिलापत्र गर्दै आएको संस्थाकी सह–सचिव दिलमायाँ पौवीले बताईन् ।
पौवीका अनुसार केन्द्रमा आर्थिक वर्ष २०७३ ÷ ०७४ मा ३४ वटा महिला हिंसा सम्वन्धीका घटना दर्ता भएको थियो भने १ ओटा पुरुष हिंसाका घटना समेत दर्ता भएको थियो । जस मध्य ३० वटाको मिलापत्र केन्द्रमै गरिएको र ५ वटा घटना जिल्ला पठाईएको सह–सचिव पौवीको भनाई छ ।

सहकारीद्धारा घरेलु हिंसामा परेका तथा पिछडिएका महिलाहरुका लागी १ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउदै आईएको छ । साथै सहकारीमा तलव भत्तामा कुनै पनि कर्मचारी नराखेको र संस्थाको सम्पुर्ण काम सञ्चालक समितिले निशुल्क रुपमा गर्दै आएको सह–सचिव पौवीले बताउनुभयो । हाल सहकारीमा ३ सय ७८ जना महिला सेयर सदस्य रहेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply