Sorry, that menu does not exist.
 

सहकारी दिवसमा धौलागिरि स्तरीय सहकारी युवा सम्मेलन हुने

बागलुङ, २०७४ चैत ६ । ६१ औ राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रमका साथ आगामी चैत २० गते देशभर मनाइदैछ । यसै सन्दर्भमा बागलुङमा ५ दिने विविध कार्यक्रमका साथ सहकारी दिवस मनाउन लागिएको छ । जिल्ला सहकारी संघ लिमिटेड बागलुङको आयोजना तथा स्थानीय तह, डिभिजन सहकारी कार्यालय, विषयत जिल्ला सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुको सहयोगमा दिवस मनाउन लागिएको हो ।

सहकारी दिवसका अवसरमा धौलागिरि अञ्चल स्तरीय सहकारी युवा सम्मेलनको आयोजना गरिएको छ । जिल्ला सहकारी संघ र बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको आयोजनामा चैत १९ गते सञ्चालन हुने युवा सम्मेलनमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा क्रियाशिल सहकारीमा आवद्ध १ सय ५० जना युवाहरुको सहभागिता रहने जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

युवाहरुलाई सहकारी मार्फत उद्यमशिल बनाउन सहयोग पु¥याउने, सहकारीमा युवा सहभागिता बढाउने तथा युवाहरुलाई अध्ययन, नेतृत्व विकाससंगै वित्तीय साक्षरता समेत दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताए ।

युवा सम्मेलनमा सहकारी विभागका पूर्व रजिष्ट्रार तथा सहकारी विज्ञ सुदर्शन ढकाल लगायत सहकारी क्षेत्रका अगुवाहरुले सहजीकरण गर्ने कार्यक्रम रहेको बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवरले बताए ।

राष्ट्रिय सहकारी दिवसका अवसरमा चैत १६ गते बागलुङ दुग्ध सहकारी संघ लिमिटेडको संयोजनमा बानपा–४, कुडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत मा.वि तिरुपति बालाजीधाममा खाद्यान्न वितरण, १७ गते बिहान सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा पत्रकारहरुसंग समृद्धिका लागि सञ्चार विषयक अन्तरक्रिया, सोही दिन महिला सहकारी जिल्ला समन्वय समितिको संयोजनमा सहकारीका कर्मचारीहरुको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम, चैत १८ गते जिल्ला वचत तथा ऋण सहकारी संघको संयोजनमा श्रमिकहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको जिल्ला सहकारी संघ लिमिटेड बागलुङका सचिव तेजेन्द्र थापा मगरले बताए ।

सहकारी दिवसको मुख्य दिन चैत २० गते बागलुङ बजारको लोकतान्त्रिक चोकबाट ¥याली गरिने र उत्कृष्ट सहकारी संघ संस्थाहरुलाई पुरस्कृत गरिने कार्यक्रम रहेको उनले जानकारी दिए । यसपटकको सहकारी दिवसको संयोजन जिल्ला सहकारी संघले गरेको हो ।

५ दिने सहकारी दिवस सम्पन्न गर्नका लागि ३ लाख ३० हजार ४ सय रुपैया खर्च प्रस्ताव गरिएको र बागलुङ जिल्लाका सबै स्थानीय तह र सहकारी संघ संस्थाहरुलाई सहयोगका लागि आव्हान गरिएको जिल्ला सहकारी संघका कोषाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन ।

नेपालमा २०१३ साल चैत २० गते चितवनको बखानपुरबाट पहिलो पटक सहकारीको शुरुवात भएको थियो । बखान सहकारी संस्था पहिलो संस्थाका रुपमा स्थापना भएको दिन चैत २० गतेलाई नेपालमा राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउदै आएको छ । यसवर्ष दीगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नाराका साथ देशभरका सहकारी संघ संस्था तथा कार्यालयहरुले सहकारी दिवस मनाउदैछन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply