सुमन सुनार, बुर्तिवाङ २०७४ चैत ८ । निसीखोला गाउँपालिका—२, अर्नाकोट देउरालीमा दुई दिने निशुल्क स्वास्थ्य परिक्षणका साथै दुखाइ तथा घाउ हेरचाह सम्बन्धी अभिमुखिकरण शिविर शुरु भएको छ ।
दीप प्रज्वलन तथा ब्यानर खोलेर शिविरको उद्घाटन गर्दै निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जिल्लाको विकट क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका बर्गहरुलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गर्ने संस्थाप्रति धन्यवाद ज्ञापन दिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहुनभएका अध्यक्ष पौडेलले अर्नाकोट देउरालीका स्थानीयहरुलाई सामान्य भन्दा सामान्य स्वास्थ्य समस्या देखा पर्दा पनि टाढा जानुपर्ने बाध्यता रहेकोले त्यहाँका स्थानीयहरुको आवश्यकतालाई मध्यनगर गरी अर्नाकोट देउरालीमा सामुदायिक स्वास्थ्य इकाइको स्थापना गर्न सहयोग गर्ने बताए ।
त्यस्तै, कार्यक्रममा निसीखोला गाउँपालिका—२, का अध्यक्ष कुबिर विकले सहज रुपमा स्वास्थ्य सेवा पाउनु हरेक नागरीकको आधारभुत अधिकार भएकोले त्यसको परिपूर्तिको लागि आफुले सक्दो पहल गर्ने धारणा राखे ।
उता, कार्यक्रममा बोल्दै कर्म फ्लाइट्स फाउण्डेसन, पोखराका कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले आफ्नो संस्थाले विदेशी दाताहरुसँग निरन्तर सम्पर्क र समन्वय गरी पश्चिम बागलुङका विकट क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको सहज पहुँचको लागि अभियान जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा अवसरमा कान्ति बाल अस्पताल काठमाडौका डा. मोहन विश्वकर्मा, औषधि व्यवसायी महासंघका महासचिव कृष्ण प्रसाद पाण्डे, निसीखोला गाउँपालिकाका सचिव बिराज विश्वकर्मा, देविस्थान स्वास्थ्यचौकीका इन्चार्ज मुक्तिनाथ लोहनी, कर्म फ्लाइट्स फाउण्डेसन पोखरासँग सम्बन्धित विदेशी स्वयमसेवकहरु, विभिन्न विद्यालयका प्रध्यानाध्यापक, स्थानीय समाजसेवी तथा बुद्धिजीवीहरुको उपस्थिती रहेको थियो ।
गाउँपालिका अध्यक्ष पौडेल र वडा अध्यक्ष कुबिर बिकले स्वास्थ्य परिक्षण गरेर शिविरको उद्घाटन गरिएको थियो । शिविरको पहिलो दिन ३ सय भन्दा धेरै स्थानीयहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । शिविरबाट निसीखोला गाउँपालिकाका अर्नाकोट, देउराली र ढोरपाटन नगरपालिकाका निन्नेचौर, चौर तथा खलबाङका स्थानीयहरु लाभाम्बित भएका छन् ।
त्यस्तै, हिँजो नै फाउण्डेसनले निसीखोला गाउँपालिका—२ का शैक्षिक संस्थाहरुलाई विभिन्न सामाग्रीहरु वितरण गरेको छ । कार्यक्रमको अवसर पारेर फाउण्डेसनले अर्नाकोट आधारभूति विद्यालय देउराली, जनप्रिय प्राथमिक विद्यालय, प्रभुकुटी बालविकास केन्द्र र सिडेरी बालविकास केन्द्रलाई विभिन्न शैक्षिक चार्ट, कार्पेट तथा बाल्टिनहरु सहयोग गरेको हो ।
शिविरको औपचारिक कार्यक्रम अर्नाकोट आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष लालबहादुर कुँवरको अध्यक्षता, विद्यालयका भूतपूर्व प्रध्यानाध्यापक झमबहादुर कुँवरको स्वागत मन्तव्य र विद्यालयकी शिक्षिका भाविका विकको सञ्चालनमा सम्पन्न भएको थियो ।
कर्म फ्लाइट्स फाउण्डेसन पोखरा र नेपाल इस द युकेको संयोजन र देविस्थान स्वास्थ्य चौकीको समन्वयमा सञ्चालन भैरहेको शिविर आजसम्म चल्ने झम सिरपालीले जानाकारी दिए ।