Sorry, that menu does not exist.
 

खानेपानी योजना तोडफोड : मगरको छोरो सोझो हुन्छ, यत्ति तताई दिएपछि ठोक भने ठोक्छ !

प्रेम सुनार, गुल्मी, २०७४ चैत ११ । गुल्मी दरवार गाउँपालिको एक वडामा स्थानिय सरकारको निर्णय अस्वीकार गर्दै त्यहाँको एक समुहले हालै लाखौ लागतमा सम्पन्न विकास निर्माण तोडफेड गरेर ध्वस्त पारी दिएका छन् ।

सो गाउँपालिका अन्तरगत वडा नम्वर ४, साविकको विरवास गाविस तल्लो मिसुगा गाउँको एउटा ठुलै समुहले धारापानी घट्टेगैरा गोखुङ्गा टोल खानेपानी योजनाको नवनिर्मित ट्याङकी तोडफोड गरेर ध्वस्त पार्नुका साथै भट्टेचौर सम्म विछाईएको करिव १३ सय मिटर पाईप उखलेर लगेका हुन् ।

वडा कार्यालयको १ लाख, बाँकी १७ घरधुरी उपभोक्ताबाट संकलित रकम र जनश्रमदान सहित ५ लाख ५१ हजारमा निर्मित उक्त खानीपानी योजना यति वेला गोला वरुदले आक्रमण गरे झै ध्वस्त पारिएको छ ।

लाहुरेहरुको गाउँ भनेर चिनिने मिसुगा गाउँ अन्य जाती सहित ७८ घर धुरी जनजाती वाहुल्य रहेको गाउँ हो । ‘त्यहाँबाट पुरै घरधुरी हातमा बञ्चरो, कोदालो , गैैची र घन लिएर ठोक–ठोक भन्दै पँधेरमा आए पछि पानी भर्ना लागेको मान्छे म गाग्री टिपेर भाँगे’– ‘भट्टेचौर गाउँका बृद्ध लोकनाथ अर्यालले भने–‘ हाम्रा जिज्यु वाजे देखि पिउँदै आएको पानी पँधेरो मुड्कीको वलमा खोस्न खोजिदै छ , हामी थोरै घरधुरी भएकोले हेपेर उनिहरुले वल्ल वल्ल पाएको सुविधा पनि यसर िखोस्दै छन् , हामीले गुहार पाएनौ । ’

त्यस गाउँका उपभोक्ताहरु मध्यका देविराम पोखरेलले कानुनको शासन नभएको महशुस गरेको बताए । उनले भने–‘ मुर्खका सामु दैव डराउने भने झै, स्थानिय सरकार अर्थात वडा कार्यालयले पनि ज्यादती गर्नेहरु विरुद्ध कार्वाही गर्न नसकेर जिल्ला प्रशासनलाई पत्र लेखेको छ । विदाको दिन भएकोले प्रशासनमा उक्त पत्र लगेर जान सकेका छैनौ र जिल्ला प्रहरी कार्यालय संग सुरक्षाका माग गरेका छौं ।’

उनले थपे–‘ मिसुगावासीलाई वडा कार्यालयको निर्णय चित्त बुझेको थिएन भने त्यो भन्दा माथील्लो निकाय गाउँपालिका, जिल्ला प्रशासन र अदालत समेत जाने बाटो खुल्ला थियो तर हामी भट्टेचौरवासीले १७ दिन सम्म झारा लगेर प्रत्येक घरधुरीबाट रकम संकलन गरेर बनाएको ट्याङकी भत्काउन र पाईप लुट्न आवश्यकता थिएन नि । ’

त्यस गाउँ लक्ष्मी चुँदालीले एक्लै दोक्लै पँधेरोमा आउँदा उनिहरुले आक्रमण गर्ने हुन कि भन्ने डरले समुहमा पानी लिन आउने गरेको बताईन । पौने एक घण्टाको बाटो हिडेर पानी लिन आउने गरेका थियौं उनि सहितका पँधेरोमा आएका दर्जनौ महिलाहरुले भने–‘ हामीले सदियौ देखि पिउँदै आएको पानी पँधेरोबाट ट्याङकी बाँधेर टोलमा पानी लैजाँदा मिसुगावासीलाई किन डाह ? ’

त्यस दिन मिसुगावासीले ट्याङकीमा आक्रमण गर्दाकी प्रत्यक्षदर्शी महिला विष्णु रानाका अनुसार त्यहाँबाट पानी थाप्दै गरेका उनि र बृद्ध अर्याल एक शव्द बोलेको मात्रै भए ठुलो रक्तपातको अवस्था आउने थियो ।

५० देखि ७० जना सम्मको जत्था पुर्रै आक्रमक बनेर आएको थियो । रानाले भनिन परै देखि हान हान भन्दै र कुर्लिदै ठुलो हुल आएको देखे पछि आफुहरु गाग्री नै छाडेर भाग्यौ र ज्यान बचाएका थियौं । त्यस गाउँ की अर्की उपभोक्ता लक्ष्मी चुँदालाले टोल सम्म विछाएको पाईप मात्र नभएर आफुहरुको घरमा राखिएका निजी पाईप समेत मिसुगा गाउँका मानिसहरुले लुटेर लगेको बताईन ।

यस सम्वन्धमा त्यस वडाका अध्यक्ष खुमबहादुर पल्लीको भनाई यस्तो छ –‘मिसुगा गाउँका धेरै जस्ता जनता त्यस्तो गुण्डागिरी , तोडफोड गर्ने स्वभावका छैनन् । तर पनि त्यहाँका केहि मानिसहरुले राजनैतिक फाईदा लिन र चुनावको रिस फेर्न त्यसरी कानुन हातमा लिर्दै तोडफोड र लुटपाटमा उत्रिन पुगे ।
म एमालेबाट विजयी भए पनि म विजयी भए पछि सवै जनताको साझा प्रतिनिधी हुँ । त्यहाँका केहि कांग्रेसजनले म प्रति चुनावी रिस साँधेर त्यहाँका जनतालाई भ्रमित पार्दै पानाीको मुहान मिसुगा गाउँवाट वडाध्यक्षले खोस्यो भन्ने पारिएको छ तर म मिसुगावासीलाई भन्छु हामीले त्यहाँका वासीन्दालाई पानीको कमी नहुने गरी निर्णय गरेका छौं ।

पहिलो कुरा त ओभर फ्लो बाट बचेको पानी आधा आधा गर्ने गरी उक्त योजनाको निर्णय गरेका छौं । ओभर फ्लोको पानीले पनि मिसुगावासीलाई पानीको कमी हुने देखिए त्यस्तो अवस्थामा भट्टेचौरवासी त्यही पँधेरोमा बोक्न आउने ट्याङकीमा भरेर गाउँमै लैजान नपाउने सम्मको निर्णय गरेका छौं ।
म सवै जना मिसुगावासीलाई भन्दिँन तर केहि राजनैतिक फाईदा लिन खोज्ने तत्वले गरेको उक्त कार्य गुण्डागिरी र लुटपाट हो , जुन निन्दनीय छ र कानुन अनुसार दोषिलाई कार्वाही हुनै पर्दछ ।’

रणभूमि झै बनेको त्यस खानेपानी योजनाको रिर्पोटिङ्ग सकेर त्यस मिसुगा गाउँवासीको प्रतिकृया लिँदा त्यहाँका अगुवाहरु मात्रै बोल्न चाहेनन् । करिव १० मिनेटको अन्तरालमा पुरै गाउँवासीलाई आन्दोलनका रुपमा एकै थलोमा उतारे । दर्जनौ युवाहरु र करिव ५० जनाको संख्यामा उपस्थित भएका महिलाहरुको सुरुको प्रतिकृया थियो । अँस्ती तोडफोड गरे पछि आज पत्रकार पनि यहि गाउँ मै आए खुव रमाईलो हुने भयो ।

दोश्रो पतिकृया थियो, उनिहरुको कुरा मात्रै सुनेर हुन्छ र अव हाम्रो कुरा पनि सुन्नु होस् । ’ त्यस पछि वयोबृद्ध नरबहादुर ढेंगा वोल्न थाले । उनले म एमाले छँदा र मनमोहन सिंह प्रधानमन्त्री हुँदा २०५१ सालमा योजना पारेर अहिले भट्टेचौरका मान्छेले पानी खाने पँधेर भन्दा सय मिटर तलबाट पानी यस गाउँमा ल्याएको हुँ । जहाँ दुई वटा च्याम्वर बाँधेर पानी ल्याएका छौं । माथील्लो मुहानको पानी त्यस गाउँलाई दिनु भनेको हामी यस गाउँका ८७ घरधुरीको घाँटी सुकाउनु हो , हामी जो आए पनि दिनेवाला छैनौं । ’

कांग्रेसका स्थानिय अगुवा समेत रहेका पुराना समाज सेवी थम्मनबहादुर ढेगा र केयरसिंह ढेगाले वडा कार्यालयले त्यस गाउँका एकजना प्रतिनिध िसमेत नबोलाई एकलौटी ढंगले निर्णय गरेकोले जनता आक्रेषित भएर तोडफोड गरेको प्रतिकृया दिए ।

हामीले त्यो निर्णय फिर्ता गर्नुहोस र काम रोक्नुहोस भनेर पटक पटक भनेका पनि हौं तर सुन्दै नसुने पछि हामी तोडफोड गर्न बाध्य भएका हौं , त्यहाँ उपस्थित सवैले एकै स्वरमा भने–‘ त्यस पानीका लागि हामी आफुहरु मर्न पनि तयार छौ र कसैलाई मार्न पनि तयार छौं । ’

झकबहादुर ढेगाले माथी भट्टेचौरका उपभोक्ता देविराम पोखरेल संग फोनमा कुरा गर्दा पनि धम्कीपुर्ण भाषा प्रयोग गरेका छन् । पोखरेलको मोवाईलमा सुरक्षित उक्त फोन रेकर्डमा ढेगाले भनेका छन–‘ मगरको छोरो सोझो हुन्छ , यत्ति तताई दिए पछि ठोक भने ठोक्छ, मार भने मार्छ…. । ’
तर त्यसै गाउँका शिक्षित युवा होमबहादुर सनानीले भने त्यसरी तोडफोड गर्न गलत हो । उनले भने म त गईन गईन तर सवैले तोडफोड गर्ने निर्णय गरेपछि सवै त्यहाँ पुगेर तोडफोड गरे छन् । त्यसो गर्नु हुँदैन्थ्यो । विवादको विषय मिसुगावासी, भट्टेचौरवास र वडा कार्यालय संगै बसेर मिलाईनु पर्ने थियो ।
तोडफोडमा संलग्न अर्का युवा फर्शाबहादुर रजालीले भने– ‘ खै आफुलाई त थाह भएन जाम जाम भने म पनि आएँ तर तोडफोड गर्दा त मन खाएको थियो ।’ मिसुखावासीले उखलेर लगेको पाईप र तोडफोड गर्दा निस्कीएको फालामे सामग्री स्थानिय विद्यालयमा लगेर राखेका छन् ।
स्थानिय महिलाहरुको ठुलो समुहले त्यस वडामा एमालेले जित्यो भन्दैमा विपक्षी दलको सहमति नलिई जे गर्न पनि पाईन्छ ? भन्दै आक्रोष पोखे । वरु काटिन तयार छौं तर त्यो गाउँलाई पानी लैजान दिन तयार छैनौ त्यहाँका अधिकांस महिलाहरुले भने पहिला जस्तै त्यहाँ आएर डोकोमा बोकरे लैजान्छन भने हामी केहि गर्दैनौं ।

त्यस वडा कायाृलयका अनुसार मिसुगा गाउँलाई पानीको अभाव नहुने गरी वर्षऔं देखि पानीको असुविधा ब्यहोरेका भट्टेचौका १७ घरधुरीका लागि बनाईएको खानेपानी योजन ध्वस्त पार्न अगुवाई गरेको भन्दै थम्मनबहादुर ढेंगा , झगबहादुर ढेँगा, दधिराम पुँवारे र धनबहादुर ढेंगालाई कार्वाह गर्न जिल्ला प्रशासन समक्ष सिफारिस गरेको छ ।

यस सम्वन्धमा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले आफ्नो गम्भीर ध्यानकृष्ट भएको जनाएका छन् । ‘कसैलाई कुनै कुरामा चित्त नबुझे एक पछि अर्को विवाद समाधान गर्ने निकाय हुँदाहुँदै त्यसरी कानुन हातमा लिन गरी तोडफोड गरिएको विषय भरसक गाउँपालिकाले नै मिलाओस , –अर्यालले भने–‘यदि त्यहाँ मिलेन भने प्रमुख जिल्ला अधिकारीको हैसियतले मैले मेरो भुमिका निभाउने छु । ’ उनले जानकारी पाउन साथ सुरक्षा दिन त्यस गाउँमा प्रहरीलाई खट्न निर्देशन समेत दिएको बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply