Sorry, that menu does not exist.
 

ढोनपा भित्रका विद्यालयमा बिहिबार देखि बार्षिक परीक्षा सञ्चालन, ६ हजार विद्यार्थी सहभागी हुँदै !

प्रशान्त घर्तिमगर, २०७४ चैत १४ । बिहिबार देखि ढोरपाटन नगरपालिकाका विद्यालयहरुमा यो बर्षको बार्षिक परीक्षा सञ्चालन हुँदै छ । शैक्षिक सत्रको अन्त्यमा लिइने यो बर्षको बार्षिक परीक्षामा नगरपालिकाका ४३ वटा सामुदायिक विद्यालयका करिब ६ हजार विद्यार्थीहरु सहभागी हुँदैछन् ।

२३ प्रकारका शैक्षिक अधिकारहरु स्थानीय तहलाई हस्तान्तरण गरिएपछि यो बर्षको परीक्षा नगरपालिका स्तरीय हुँदैछ । नगरपालिका स्तरीय परीक्षामा २४ वटा प्राथमिक तहका विद्यालयमा अध्ययनरत करिब ३ हजार ५ सय ७२ जना विद्यार्थी परीक्षामा सामेल हुँदैछन् । त्यस्तै, नगरपालिकाका १२ वटा आधारभुत विद्यालयका १ हजार ७ सय ९९ विद्यार्थी र माध्यमिक तह अन्तरगत कक्षा ९ का ५ सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुने ढोरपाटन नगरपालिका स्तरीय परीक्षा समितिका संयोजक नविन जिसीले जानाकारी दिए ।

त्यसैगरी, अघिल्ला शैक्षिक सत्रहरुमा जिल्लाबाट सञ्चालन हुने कक्षा ८ को परीक्षाको अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएपछि कक्षाको ८ को परीक्षामा निजी विद्यालय पनि सहभागी हुँदै छ । अंगे्रजी तथा नेपाली माध्ययममा छापिएका प्रश्नपत्रहरु निजी र सामुदायिक दुवै विद्यालयको लागि समान हुने छ । यो बर्षको कक्षा ८ को परीक्षामा ३ निजी र अन्य सामुदायिक विद्यालयका ६४४ जना विद्यार्थी परीक्षामा सामेल हुने उत्तरगंगा श्रोत केन्द्रका श्रोतव्यक्ति हरिचन पाण्डेले बताए ।

चैत २३ गतेसम्म चल्ने परीक्षाको पहिलो दिन बिहिबार अंगे्रजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षालाई व्यवस्थित गर्नको लागि सम्बन्धित विद्यालयलाई जानाकारी गराइसकिएकोले भोलि मध्यान्न १२ बजेबाट सवै विद्यालयहरुमो परीक्षा एकैसाथ सुरु हुने परीक्षा संयोजक जिसीले ईबागलुङलाई बताए । त्यसलगत्तै प्रत्येक विद्यालयहरु परीक्षाफल प्रकाशनको तयारीमा लाग्ने र चैत्र ३० गते यो शैक्षिक सत्रको बार्षिक परीक्षाको परीक्षाफल प्रकाशित गरिने उनको भनाई थियो ।

ढोरपाटन नगरपालिकाका छिमेकी गाउँपालिकाहरु तमानखोला, निसीखोला र बडिगाडमा भने यस अघि नै परीक्षा सकिएको छ । गत फागुन अन्तिम हप्ताबाट शुरु भई चैत पहिलो सातामा परीक्षा सकेका ती गाउँपालिकाका कतिपय विद्यालयहरुले परीक्षाफल समेत प्रकाशन गरिसकेका छन् ।

ढोरपाटन नगरपालिकामा भने ढिला गरी परीक्षा सञ्चालन गर्ने नगरपालिकाको निर्णयप्रति कतिपय शिक्षकहरुले भने गुनासो पोखेका छन् । विद्यार्थी संख्या धेरै तर भौतिक संरचनाको अभाव भएका विद्यालयहरुमा परीक्षा सञ्चालन गर्न समस्या हुने शिक्षकहरुले बताएका छन् । त्यसमाथि कतिपय विद्यालयहरुमा अध्यापनरत आन्तरिक शिक्षकहरु २३ गते हुने भनिएको शिक्षक सेवा आयोगको परीक्षा तयारीमा समेत रहेकोले परीक्षा व्यवस्थापनामा थप समस्या आउन सक्ने शिवालय माध्यमिक विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र पौडेलले बताए ।

विद्यार्थी संख्या अत्यधिक तथा जनशक्ति र भौतिक संरचनामा समस्या भएका ज्ञानोदय मावि बोबाङ, शिवालय मावि सहिखोला, भूजी मावि अधिकारीचौर र उत्तरगंगा मावि बुर्तिबाङ जस्ता विद्यालयमा परीक्षा सञ्चालन गर्न समस्या हुने देखिएको छ । यी विद्यालयहरुमा बेञ्चको अभाव, कक्षा कोठाको अभाव हुँदाहँुदै त्यसमाथि एउटै सिफ्टमा परीक्षा सञ्चालन गर्नुपर्दा एउटै बेञ्चमा धेरै विद्यार्थी राखेर परीक्षा सञ्चालन गर्नुपर्ने समस्या आएको छ । जसले गर्दा परीक्षा अमर्यादित हुनुका सथै परीक्षार्थीले सहज बातावरणमा लेख्न सक्ने वातावरणमा समेत समस्या आउन सक्ने देखिएको छ ।

यो बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा केन्द्र निर्धारण गरिएको उत्तरगंगा मावि बुर्तिबाङमा एसइइ परीक्षालाई पनि व्यवस्थित गराउनुपर्ने बाध्यता भएको र स्थानीय तह, प्रदेश तथा प्रतिनीधिसभाका चरणबद्ध निर्वाचणको कारणले पढाइमा समस्या परेकोले अन्य स्थानीय तहभन्दा पछाडिबाट परीक्षा सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply