बुर्तिवाङ २०७४ चैत १६ । बुर्तिवाङ बजारमा आयोजना गरिने बुर्तिवाङ महोत्सव २०७५ को तयारी तीब्र पारिएको समाचार चर्चामा आईरहँदा बुर्तिवाङ बजारको ढल निर्माणको गति प्रति पनि सर्वाधिक चासो बढेको छ । महोत्सवको सन्निकटतालाई मध्यनजर राख्दा बुर्तिवाङ बजारमा निर्माणाधीन अवस्थामा रहेको ढलनालीको महत्वलाई नकार्न सकिन्न ।
यसै तथ्यलाई उजागर गर्दै पत्रकार राम सुवेदीले आफ्नो फेसबुकको पर्खालमा बुर्तिवाङ बजारमा ढल नाली निर्माणको तस्बीर पोष्ट गरेका छन् ।
महोत्सवको तिथी भन्दा पहिले नै ढल –नाली) निर्माण सम्पन्न हुनु अति जरुरी रहेको तस्वीरले जनाउ मात्र दिएको छैन, एक महिला सामाजिक अभियन्ताको सक्रियतालाई सराहना समेत गरेको छ । साँच्ची भन्ने हो भने यसैगरी सामाजिक अभियन्ताहरु सडकमा निस्केर ढल निर्माणमा नसघाउने हो भने महोत्सव धुलोत्सवमा परिणत हुन बेर लाग्दैन ।
बजार सरसफाई देखी एकत्रित फोहोरको व्यवस्थापन समेत सामाजिक संघसंस्था वा प्रहरीले गरिदेओस भन्ने बुर्तिवाङे मानसिकतालाई ढल निर्माणमा सघाउन सडकमा निस्केकी सामाजिक अभियन्ता दिलमाया पौवीको यो तस्वीरले बुर्तिवाङ बजारवासीलाई केहि शुभ सन्देश चाहिँ पक्कैपनि दिएको हुनुपर्छ ।