बागलुङ, २०७४ चैत १६ । ६१ औ राष्ट्रिय सहकारी दिवस बागलुङमा ५ दिने विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको अवसर पारेर जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले शुक्रवार कुडुलेस्थित संस्कृत पाठशालामा खाद्यान्न वितरण गरेका छन् ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको संयोजनमा बानपा–४, कुडुलेस्थित मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय तिरुपति बालाजीधाममा खाद्यान्न वितरण गरिएको हो ।
सहकारीहरुले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । विद्यालयलाई २६ हजार २ सय ५० बराबरको चिनी, चामल, सुजि, चना, घ्यू, लगायत खाद्य सामग्री हस्तान्तरण गरिएको थियो ।
खाद्य सामग्री हस्तातरण कार्यक्रममा विद्यालयको अवस्थाका बारेमा प्रधानाध्यापक शान्ति ज्ञवालीले जानकारी गराएकी थिईन । कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमको अध्यक्षा, कोषाध्यक्ष अञ्जु जिसीको स्वागत र बागलुङ दुग्ध सहकारी संघका अध्यक्ष युक्तप्रसाद कंंडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
सहकारी दिवसका अवसरमा १७ गते महिला सहकारी जिल्ला समन्वय समितिको संयोजनमा सहकारीका कर्मचारीहरुको भूमिका सम्बन्धी अभिमुखीकरण कार्यक्रम, चैत १८ गते जिल्ला वचत तथा ऋण सहकारी संघको संयोजनमा श्रमिकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सोही दिन बिहान सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङको संयोजनमा पत्रकारहरुसंग समृद्धिका लागि सञ्चार विषयक अन्तरक्रिया आयोजना गरिएको जिल्ला सहकारी संघ लिमिटेड बागलुङका कोषाध्यक्ष अञ्जु जिसीले बताईन् ।
बहुउद्देश्यीय सहकारी संघको संयोजनमा चैत १९ गते धौलागिरि स्तरीय सहकारी युवा सम्म्मेलनको आयोजना गरिएको र उक्त कार्यक्रममा सहकारी विभागका पूर्व रजिष्ट्रार तथा सहकारी विज्ञ सुदर्शन ढकाल, राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी लगायतले सहकारी मार्फत युवा उद्यमशिलता विकास सम्बन्धमा सहजीकरण गर्ने कार्यक्रम रहेको बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गाबहादुर कुँवरले जानकारी दिए।
सहकारी दिवसको मुख्य दिन चैत २० गते बागलुङ बजारको लोकतान्त्रिक चोकबाट ¥याली शुरु गरी बजार परिक्रमापछि बालमन्दिरसभा हलमा मुल समारोहको आयोजना गरिएको जिल्ला सहकारी संघका अध्यक्ष दिपक गौतमले बताए ।
विगतका डिभिजन सहकारी कार्यालयले संयोजन र जिल्ला सहकारी संघको समन्वयमा हुने गरेको सहकारी दिवस कार्यक्रम यसपटक जिल्ला सहकारी संघको संयोजनमा हुन लागेको छ । सहकारी दर्ता, अनुगगमन, नियमन लगायत प्रवद्र्धनका काम गर्ने जिम्मेवारी स्थानीय सरकारलाई गएको र डिभिजन सहकारी कार्यालयले जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया अगाडि बढेकोले यसपटकको सहकारी दिवसको संयोजन जिल्ला सहकारी संघले गरेको हो ।
५ दिने सहकारी दिवस सम्पन्न गर्नका लागि ३ लाख ३० हजार ४ सय रुपैया खर्च प्रस्ताव गरिएको र बागलुङ जिल्लाका सबै स्थानीय तह र सहकारी संघ संस्थाहरुलाई सहयोगका लागि आव्हान गरिएको जिल्ला सहकारी संघका कोषाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन ।