सुमन जि.सी बागलुङ, २०७४ चैत १७ । बचत तथा ऋण सहकारी सस्थाहरुको केन्द्रिय छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनले विकास गरेको जोखिममा आधारीत सुपरीवेक्षण कार्यक्रम बागलुङमा सञ्चालन हुने भएको छ ।
६१ औं राष्ट्रिय सहकारी दिवस २०७४ को पूर्व सन्धयामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. नेफ्स्कूनको आयोजना र जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङको संयोजनमा शनिवार बागलुङको होटल पिस प्यालेसमा आयोजना गरिएको जोखिममा आधारीत सुपरीवेक्षण तथा साकोस एकरुपता प्रणाली विषयक अभिमुखीकरण गोष्ठि पश्चात बागलुङमा उक्त कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नेफ्स्कूनमा आवद्ध बागलुङ र पर्वत र म्याग्दीका गरी १६ वटा संस्थाहरुले उक्त कार्यक्रममा सहभागिता जनाउने प्रतिवद्धता गोष्ठिमा व्यक्त गरेका थिए । नेफ्स्कूनले उक्त कार्यक्रम मार्फत संस्थाहरुमा देखिने जोखिमहरुलाई न्यूनिकरण तथा व्यवस्थापन गर्ने औजारहरु प्रदान गर्ने एवम् संस्थाहरुको व्यवसायीक दक्षता विकासमा सघाउ पु¥याउने नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गाप्रसाद ढकालले बताए । कार्यक्रमले संस्थालाई समुदायको उत्कृष्ट, जोखीमरहित एवं नमुना वित्तीय संस्था बनाउन यसले सहजिकरण गर्ने ढकालको भनाई थियो ।
कार्यक्रममा नेफ्स्कूनका सञ्चालक एवं जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बागलुङका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संस्थाहरुलाई सदस्यमैत्री, व्यवसायीक र जोखीम रहित बनाउनका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।
संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न गोष्ठिमा जिल्ला स्वास्थ्य सहकारी संघ लि. बागलुङका अध्यक्ष सीता शर्मा, संघका लेखा समिति संयोजक महेन्द्र सिंह रायमाझी, कार्यक्षेत्र महिला साकोसका अध्यक्ष प्रमिला राजभण्डारी लगाएतले मन्तव्य राखेका थिए ।
बागलुङ र पर्वतका २५ वटा संस्थाका ४८ जनाको सहभागिता रहेको कार्यक्रमको स्वागत संघका सञ्चालक चीनीमाया काला मगर र सञ्चालन कोषाध्यक्ष वीरवहादुर किसानले गरेका थिए ।