लोकेन्द्र निरासी, बुर्तिबाङ, २०७४ चैत २१ । बढ्दो शहरीकरणको चापसंगै बुर्तिबाङ बजारमा बधशालाको अभावमा पशुबध अव्यवस्थित बन्दै गएको छ भने बजारका अधिकांश मासु पसलहरु समेत मापदण्डभन्दा बाहिर रहेका छन् ।
दैनिक जसो बुर्तिबाङ बजारमा खसी, बोका र कुखुरा देखि लिएर राँगा भैंसीहरु मासु विक्रिका लागि बध गर्ने गरिन्छ तर दैनिक अत्यधिक मासु खपत हुने बुर्तिबाङ बजारमा अव्यवस्थित र मापदण्डभन्दा बाहिर रहेका मासु पसलहरुबाट विक्रि हुने अस्वस्थ मासु र त्यसबाट उपभोक्ताको स्वास्थ्यमा पुग्ने असर प्रति कसैको ध्यान जान सकेको छैन । यस सम्बन्धमा उद्योग बाणिज्य संघ, उपभोक्ता मञ्च र स्थानीय निकाय समेत मौन छन् ।
अत्यधिक विद्यार्थीको चाप हुने उत्तरगंगा मा.वि.को पूर्व छेउ विद्यालयदेखि मात्र ५० मिटरको दुरीमा दैनिक विहानैदेखि बाटैमा खुल्ला रुपमा राँगो भैंसी बध गर्ने गरेको दृश्य जो कसैले देख्न सकिन्छ । यही बाटो भएर अधिकांश विद्यार्थीहरु विहानैदेखि विद्यालयमा आउने जाने गर्छन् भने अर्कातिर निसीभुजी जनता क्याम्पसमा विहानी कक्षामा पढ्न पढाउन जाने शिक्षक विद्यार्थीहरुको समेत बाक्लो आवतजावत हुने गर्छ । यसै समयमा खुल्ला पशुबधको दृश्य र धुलो माटोमा रगत चुहाउँदै डोकामा मासु बोक्नेहरुको दृश्यले एकातिर विद्यार्थी एवं बालबालिकाहरुको मस्तिष्कमा समेत मनोवैज्ञानिक रुपमा नकारात्मक प्रभाव परिरहेको छ भने अर्कातिर बैज्ञानिक पशु वधशाला नहुँदा यस प्रकारको अव्यवस्थित र अस्वस्थ मासुको विक्रि वितरणले अधिकांश जनताको स्वास्थ्यमा पर्न जाने नकारात्मक असर प्रति कसैले चासो र चिन्ता दिएको पाइदैन ।
अहिले बुर्तिबाङ बजारका अधिकांश मासु पसलहरु अव्यवस्थित र मापदण्डभन्दा बाहिर रहेका छन् । विक्रि हुने फरक फरक पशुका मासुहरु समेत एउटै पसलबाट विक्रि हुने गरेको, किराना र फलफूल पसलबाट समेत संगै मासु काटी विक्रि वितरण गर्ने गरेको, अधिकांश मासु पसलहरुमा सिसा नराखिएको, झिँगा, धुँलोले मासु अस्वस्थ्यकर भैरहेको पसलबाट विक्रिहुने मासु गुणस्तरहीन भएको पाइन्छ । खसीको मासुलाई प्रति केजी ६ सय रुपैयामा विक्रि वितरण हुँदै आएकोमा अहिले व्यवसायीहरुले एकाएक मूल्य बृद्धि गरि प्रति केजी ७ सय रुपैया गराइए पनि बोंसो र भित्रीमासु राखेर विक्रि गर्ने गरेको उपभोक्ताहरुको गुनासो छ । उता कुखुराको मासु प्रति के.जी. ४ सय रुपैया र राँगाको मासु प्रति केजी ३ सय रुपैयाँमा विक्रि गर्ने गरेको पाइन्छ । बजार क्षेत्रका अधिकांश मासु पसलहरु दर्ता समेत गरिएको छैन । यस्तो अस्तव्यस्त एवं अव्यवस्थित अवस्था रहँदा समेत सरोकारवाला कसैको ध्यान जान सकेको छैन ।
बुर्तिबाङ बजारमा अहिले सानाठूला गरि २५ ओटा भन्दा बढी मासु पसलबाट खसी, कुखुरा र राँगाको मासु विक्रि वितरण हुने गरेको छ भने दैनिक करिब ५ सयदेखि ७ सय किलो सम्म मासु बजारमा खपत हुने गरेको पाइन्छ । त्यसमध्य बजारका होटेलहरुमा समेत अत्यधिक मासु खपत हुने गरेको पाइन्छ । तर बुर्तिबाङ बजारको यस खालको अव्यवस्थित पशुबध र अस्वस्थ मासुको विक्रि वितरणबाट आम उपभोक्ताको स्वास्थ्यमा पर्न जाने नकारात्मक असरको बारेमा भने कसैको ध्यान जान सकेको छैन ।