बागलुङ, २०७३ फागुन ४ । संविधानसभाबाट जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि बागलुङका पत्रकारहरुले राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
लोकतन्त्रको संस्थागत विकास र प्रेस स्वतन्त्रता रक्षाका लागि संविधान कार्यान्वयन आवश्यक रहेको भन्दै पत्रकारहरुले संविधान कार्यान्वयनका लागि दलहरुको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको छैठो अधिवेशनमा सहभागी पत्रकारहरुले संविधान कार्यान्वयनको विषयलाई सबै राजनीतिक दलले गंभिरताका साथ लिन र आम जनताका तर्फबाट दवाव सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
अधिवेशनको वन्द सत्रले संविधान कार्यान्वयन गर्न दलहरुलाई आग्रह गर्ने लगायत, श्रमजिवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न, स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमले पाउनु पर्ने पहिलो हक भएकाले स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सरोकारवालाहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणका लागि शिलान्यास समेत भइसकेको अवस्थामा राजनीतिक दल, स्थानीय निकाय, उद्योगी, व्यापारी, व्यवसायी लगायत सबैमा सहयोगका लागि आव्हान गर्ने निर्णय गरेको छ ।
महासंघमा आवद्ध सम्पूर्ण सदस्यहरुले न्यूनतम १ हजार आर्थिक सहयोग गर्ने तथा सबैले आर्थिक संकलनका लागि समन्वय गर्ने निर्णय बन्द सत्रले पारित गरेको बन्द सत्रको अध्यक्ष मण्डलका सदस्य तथा महासंघका पूर्व अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।
बन्द सत्रले महासंघका सचिव दिल शिरिषले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष ताराप्रसाद शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतीबाट पारित गरेको छ ।