थम्मन थापा, बागलुङ २०७४ चैत २७ । गल्कोट नगरपालिका वडा नं ७ मल्ममा पर्यटन पदमार्ग निर्माण सुरु गरिएको छ । आर्थिक वर्ष २०७४/०७५ को गल्कोट नगरपालिकाबाट वडामा विनियोजित बजेट रु ८ लाख ५० हजारको लागतमा पदमार्ग निर्माण कार्य अगाडी बढाईएको वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए ।
अहिले मल्मको सप्ताहघाट, सानोखोला देखि निर्माण कार्य शुभारम्भ गरिएको उक्त पर्यटन पदमार्ग सातसय बगाले थापा कुल मन्दिर हुँदै मल्मको पर्यटकीय स्थल राम्चेढुङ्गा देखि घुम्टे सम्म जोडने लक्ष्य रहेको वडा अध्यक्ष थापाको भनाई छ । समृद्ध गल्कोट नगर निर्माण अभियानमा पदमार्गले थप टेवा पुग्ने जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताए ।
पर्यटन पदमार्ग निर्माण पछि पर्यटकिय स्थल राम्चेढुङगा सॅगै घुम्टेमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज हुने र पर्यटन प्रर्वद्वनमा महत्वपूर्ण भूमिका खेल्ने थापाले जानकारी दिए । त्यसको लागि राम्चेढुङगामा अहिले पर्यटन पुर्वाधारको लागि काम भईरहेको छ । निकट भविष्यमा भ्युटावर समेत निर्माण गरिने बताए । पाँच वर्षमा सप्ताहघाट देखि राम्चेढुङगा हुँदै घुम्टे पर्यटन पदमार्ग निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको पर्यटन पदमार्ग निर्माण समितिका अध्यक्ष भक्त बहादुर थापाले जानकारी दिए ।
तत्कालको लागि मल्मको सप्ताहघाटबाट निर्माण शुभारम्भ गरिएको उक्त पदमार्ग निकट भविष्यमा मध्य पहाडी लोकमार्ग अन्तरगत गल्कोट ७ बामियाबाट सुरु गरिने वडा कार्यालयले जानकारी दिएको छ ।