डम्मर बुढा मगर, बुर्तिवाङ २०७४ चैत ३० । बुर्तिवाङ बजार झिलीमिली छ । भोलि नयाँ वर्ष २०७५ साल बैशाख १ गते सक्रान्तिको अवसरमा बुर्तिवाङ बजारमा शुभारम्भ हुने ढोरपाटन महोत्सव,२०७५ बुर्तिवाङको पूर्व सन्ध्यामा आज बुर्तिवाङ बजार दुलहीँ झैँ सिँगारिएको छ । बजार सरसफाई एवं सिँगारिने कार्य जारी रहेको छ । आयोजक एवं बजारबासीलाई बोल्ने फुर्सद छैन, सबै आआफ्नो जिम्मेवारी प्रति सचेत, सजग र क्रियाशील छन् ।
महोत्सवको समुद्घाटनका लागि भोलि २०७५ साल बैशाख १ गते पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम छ । बागलुङ उद्योग वाणिज्य संघ इकाई बुर्तिबाङको आयोजना, मुख्य प्रवर्धक ढोरपाटन नगरपालिका तथा तमानखोला, बडीगाड तथा निसीखोला गाउँपालिकाहरुको समेत संयुक्त सह आयोजनामा सञ्चालन गरिने ढोरपाटन महोत्सव २०७५ बुर्तिवाङको तयारी करीब करीब पूरा भएको छ ।
बुर्तिवाङ बजारमा ढलको निर्माण कार्य जारी रहेकोले महोत्सव अवलोकनकर्ताहरुलाई केहि असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था देखिएको भएपनि भोलि बिहान सम्ममा ढलमा स्लाब राखी बजार सुन्दर सफा गराउने काममा सबैको चासो रहने विश्वास गरिएको छ ।
तस्वीर: टिकाराम भट्टराई, बुर्तिवाङ ।
तस्वीर: दिपक पराजुली, बुर्तिवाङ ।