बागलुङ २०७५ बैशाख ५ । बागलुङ नगरपालिका – १२ अमलाचौरको सरङ्गी र १३ पैयुँपाटाको बास्कोटको सामुदायिक स्वास्थ्य ईकाईहरुको नगरप्रमुख जनकराज पौडेलले मंगलबार उद्घाटन गरेका छन् ।
बा.न.पा. १२ अमलाचौरको सरङ्गीमा पनि मंगलबार नै सरङ्गी सामुदायिक स्वास्थ्य ईकाईको उदघाट्न पछी बोल्दै नगर प्रमुख पौडेलले स्वास्थ्य क्षेत्रमा सरकारले धेरै लगानी गरेका कारण यसबाट कोही पनि बञ्चित नहुन आग्रह गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारीले सामुदायिक स्वास्थ्य ईकाईले पहुँच नपुगेका सम्म पनि स्वास्थ्यको पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा अमलाचौर स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट दुर्गा प्रसाद शर्मा र लक्ष्मीनारायण आधारभुत विद्यालयका प्रधानाध्यापक हरिप्रसाद लामिछाने लगायतले मन्तव्य राखेका थिए ।
स्थानिय समाजसेवी गोविन्द पौडेलले स्वागत र अमलाचौर स्वास्थ्य चौकीका सिअहेव कृष्णप्रसाद शर्माले संचालन गरेको कार्यक्रमको अध्यक्षता बा.न.पा १२ का वडा अध्यक्ष गुरुप्रसाद पाठकले गरेका थिए ।
यसैगरी बानपा १३ को स्वास्थ्य ईकाईको उद्घाटन पछी बोल्दै नगरप्रमुख पौडेलले स्थानिय नागरिकहरुलाई प्राथमिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य केन्द्र सम्म पुग्न टाढा पर्ने भएकाले स्वास्थ्य ईकाईको स्थापना गरिएको बताए । उनले स्वास्थ्य ईकाई स्थापना सँगै ग्रामिण भेगका सवै जनतालाई स्वास्थ्यको पहुँच पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बानपाका स्वास्थ्य शाखाका सिनियर अहेब डिल्ली प्रसाद आचार्यले स्वास्थ्य ईकाईका औचित्यको बारेमा प्रष्ट पारेका थिए ।
बागलुङ नगरपालिका वडा नं. १३ पैयुँपाटाका वडा अध्यक्ष नारायण शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत जनमत माविका प्रअ परशुराम रिजाल र संचालन पैयुँपाटा स्वास्थ्य चौकीका हेल्थ असिष्टेण्ट सुशिल पौडेलले गरेका थिए ।
पूर्व स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना गरिएको थियो ।