बागलुङ २०७३ फागुन ७ । बागलुङ सदरमुकाममा शुक्रवारदेखि सुरु भएको ‘दोस्रो सडक खाना महोत्सव’ को संसद विकास समितिका सभापति एव नेकपा एमालेका नेता रबिन्द्र अधिकारीले उद्घाटन गरेका छन् ।
उद्घाटन पछि बोल्दै अधिकारीले संविधान कार्यान्वयनका लागि निर्वाचन पहिलो सर्त भएकाले सरकार, सत्ता नभई लोकतन्त्र संस्थागत गर्न निर्वाचन र स्थायित्वको बाटो अपनाउनुपर्ने बताउदै नेकपा एमाले प्रतिपक्षमा नै बसेर ३ वटा निर्वाचनमा साथ दिने बताए । ।
अधिकारीले नेपालको राजनीति वितृष्णा र अस्थिरताको चक्रमा घुमिरहेकाले देश विकास हुन नसकेकाले जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए । कुशासनमा मात्रै हिंसा मौलाउने हुनाले सार्वभौम सत्ता र अखण्डतामा औला उठाउने काम नगर्न सबैलाई आग्रह गरे ।
बागलुङ जिल्लालाई विकासको क्षेत्रमा अगाडि बढाउनका लागि ढोरपाटनमा निर्माण गर्न लागिएको उत्तरगंगा जलाशय युक्त जलविद्युत आयोजना, कालिगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग, कोरला नाकालाई प्राथमिकताका साथ काम अगाडि बढाएको अधिकारीले जानकारी दिए । कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८३ प्रतिशत काम भएको जानकारी गराउदैँ अबको डेढ बर्षमा पुर्ण रुपमा करिडोर निर्माण भैसक्ने उनको भनाई थियो ।
कार्यक्रममा सांसदद्धय प्रकाश शर्मा पौडेल, नरबहादुर थापा, नेकपा एमालेका वैकल्पिक केन्द्रिय सदस्य मनकुमारी केसी, नेपाली काँग्रेसका सचिव नवराज शर्मा, नेकपा एमालेका अध्यक्ष इन्द्रलाल सापकोटा, माओवादी केन्द्रका कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका सचिव धर्म कुँवर, राप्रपाका सहअध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष, बागलुङ नगरपालिका कार्यालयका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल राष्ट्रिय बाणिज्य संघ नगर कमिटिका अनुप रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संघका अध्यक्ष पुनमप्रसाद शर्माको अध्यक्षता र महासचिव प्रकाश चालिसे र रेणु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
साथै संघले महोत्सवको अवसरमा उदियमान बाल कलाकार दिपेन थापालाई ३६ हजार रुपैँया आर्थिक सहयोग गरेको छ ।
आर्थिक अभावका कारण औपचारिक शिक्षाबाट बञ्चित हुन लागेका थापालाई संघको सहयोगमा विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त भएको छ । संघले मासिक ३ हजार रुपैँया थापाको शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
महोत्सवमा १० वटा बिभिन्न खानाका स्टल राखिएको छ । महोत्सवमा ८० हजार आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
महोत्सवमा १८ वटा स्टलमा कोदो, मकैको रोटी, याकको सुकुटी, ट्राउट माछा, केराको मःम लगायतका स्थानीय खानाका परिकारहरु राखिएको छ । जिल्लामा रहेका विभिन्न पर्यटकिय स्थलहरुलाई विश्व सामु चिनाउनका लागि महोत्सवले सहयोग गर्ने आयोजक कमिटिका अध्यक्ष पुनम शर्माले बताए ।
महोत्सवमा ६० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको नेपाल राष्ट्रिय वाणिज्य संघका अध्यक्ष पुनम शर्माले जानकारी दिए । प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले सम्भावना बाकेको बागलुङ जिल्लालाई पर्यटकीय गन्तव्यको रुपमा विश्व सामु परिचित गर्नका लागि महोत्सवको आयोजना गरिएको उनको भनाई थियो ।
महोत्सवमा स्थानीय, जातिय, परम्परागत, जैविक खानाका परिकार, याकको सुकुटी, फापरका परिकार, केराका परिकार पहिचान सहित खानाहरु मुख्य आकर्षकको रुपमा रहेको छ । ऐतिहासिक प्रसिद्ध कालिका भगवती मन्दिर, पवित्र कालिगण्डकी, घुम्टेको लेक, पञ्चकोट, ढोरपाटन शिकार आरक्ष, ऐतिहासिक गलकोट दरवार, भकुण्डेको मुलावारी, भैरवस्थान, बराहताल, गाजाको दह, चमेरे गुफा लगायतका जिल्लाको पर्यटकीय सम्भावना बोकेको स्थानहरु हुन । यस्तै हनुमान नाच, जोगी नाच, रोपाई नाच, लाखे नाचहरु जिल्ला सांस्कृतिक धरोहरहरुको रुपमा रहेका छन् ।