बागलुङ २०७५ बैशाख ११ । करीब चार वर्ष पहिले बागलुङ उद्योग बाणिज्य संघको पहलमा बागलुङ बजारमा जडान गरिएका सीसीटीभी (क्यामरा) अधिकांश चालु अवस्थामा छैनन् । अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी भूमिका खेल्ने हुनाले जिल्ला प्रहरी कार्यालय बागलुङमा कन्ट्रोल कक्ष रहने गरी बागलुङ बजारका दुई दर्जन भन्दा बढी स्थानहरुमा सीसीटीभी जडान गरिएको थियो । तर समय बित्दै जाँदा हाल ८ वटा सीसीटीभीमात्र चालु हालतमा रहेको र केही झ्याप्प आउने झ्याम्म जाने गरेको प्रहरी श्रोतले बतायो ।
त्यतिबेला व्यापक प्रचार प्रसारका बीच बजारका चोक चोकमा जडान गरिएका सीसीटीभीहरु केहि त जडान गरिएको केहि समयमा नै काम गर्न छोडेका थिए र अहिले आएर डेढ दर्जन सीसीटीभी चालु हालतमा छैनन् ।
सवारी दुर्घटना, चोरी लगायतका असामाजिक गतिबिधी नियन्त्रण एवं अनुगमनमा प्रहरीलाई निकै सहयोगी हुने सीसीटीभी बजारका अन्य भागहरुमा समेत थप्दै जानु पर्नेमा भएकापनि काम नलाग्ने हालतमा चोकचोकमा झुण्डिएकाले यसलाई चालु गर्न सरोकारवाला निकायले चासो राख्नुपर्ने नगरबासीको गुनासो रहेको छ ।
यसैवीच नगर प्रहरी ईन्चार्ज प्रनानि उज्वल पौडेलले सीसीटीभी मरमतका लागि बाउबा संघका अध्यक्ष जयराम भारीसंग कुरा भैरहेको ईबागलुङलाई बताए ।
बिग्रिएर काम गर्न छोडेका सीसीटीभी क्यामराहरु बागलुङ उद्योग बाणिज्य संघले मरमत गर्न नभ्याए बागलुङ नगरपालिकाको सीसीटीभीहरुको मरमत र थप नयाँ जडान गर्ने तर्फ ध्यानाकृष्ट हुनुपर्ने नगरवासीले माग गरेका छन् । नगरमा हुने अपराधिक एवं असामाजिक गतिबिधी नियन्त्रण गर्न महत्वपूर्ण भुमिका रहेको सीसीटीभीलाई नगरव्यापीरुमा बिस्तार गर्न नगरपालिकाले प्राथमिकता दिनुपर्ने उनिहरुको माग रहेको छ ।