कोपिला कँडेल बागलुङ २०७५ बैशाख २० । विश्व प्रेस स्वतन्त्रता दिवस बागलुङमा एक कार्यक्रमको आयोजना गरी मनाइएको छ । ‘शक्तिको निगरानी, मिडिया, न्याय र विधिको शासन’ भन्ने नाराका साथ नेपाल पत्रकार महासंघ बागलुङले अन्तरक्र्रिया कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले सत्य, तथ्य बुझेर एवं स्रोतबाट पुष्टी गरेर मात्रै समाचारहरु प्रशारण तथा प्रकाशन गर्नुपर्ने बताए । उनले लुकेका कुरालाई संचार माध्यमबाट देखाउने कर्तव्य पत्रकारहरुको भएको भन्दै गलत कामको निगरानी गर्नुपर्ने पनि सल्लाह दिए ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले लुकाइएका समाचारलाई विशेष ध्यान दिन आवश्यक रहेको बताएका थिए । अहिले पनि शासक प्रशासकले पत्रकारलाई आफ्नो अनुकूल चलाउन खोज्ने प्रबृत्ति अझै पनि कायमै रहेकाले श्रमजिवी पत्रकारहरुको सम्मानका निम्ति पनि आवाज उठाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पुर्ब अध्यक्षहरु राजेशचन्द्र राजभण्डारी र मुकेशचन्द्र राजभण्डारी, उच्च अदालत बार एशोशिएशन बागलुङका अध्यक्ष केशवराज पराजुली, नेपाल पत्रकार महासंघ बागलुङका सल्लाहकार ज्ञानेन्द्र गौतम, कोपिला कडेल, प्रेस युनियनका उपाध्यक्ष प्रदिप पन्तले स्वतन्त्र प्रेसको लागि पत्रकार पनि स्वतन्त्र हुन जरुरी रहेको धारणा राखेका थिए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीषको अध्यक्षता, कोषाध्यक्ष विजय रानाको स्वागत र सहसचिव नबिन शिशिर बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।