रबिना बोहरा, बागलुङ, २०७५ बैशाख २१ । धौलागिरि सञ्जिवनी स्वास्थ्य सहकारीव्दारा सञ्चालित निलगिरि अस्पताल बागलुङले शुक्रबार आयोजना गरेको सचेतना कार्यक्रममा महिनावारी भएको समयमा सरसफाईलाई बढी ध्यान दिनुपर्ने सहभागीहरुले बताएका छन् ।
अस्पतालका महिला तथा स्त्री रोग विशेषज्ञ डा.लक्ष्मी गौतमले महिनावारी भएको समयमा शरीर नाजुक हुने भएकाले गाह्रो काम गर्न नहुने बताउदै २० बर्ष सम्म पनि महिनावारी नहुँदा एवं ५५ बर्षपछि पनि महिनावारी भएमा चिकित्सकलाई देखाउनुपर्ने सल्लाहा दिईन् ।
महिनावारी भएको ९ देखि १५ दिनमा बच्चा बस्ने सम्भावना बढी हुने भन्दै महिनावारीको समयमा पेट दुख्ने समस्या धेरैमा हुने डा गौतमले जाकारी दिँदै पहिलो पटक महिनावारी हुँदा बालिकामा डर, लाज तथा हिनताबोध पैदा हुने भएकाले अभिभावकहरुले पनि यसतर्फ ध्यान दिनुपर्ने बताईन् ।
महिनावारीको समयमा फोहोर कपडा प्रयोग गर्दा पाठेघरमा समस्या देखिने भएकाले प्रत्येक ६÷६ घण्टामा प्याड परिवर्तन गर्नुपर्ने उनको सल्लाह थियो । जथाभावी प्याडको प्रयोग गरी स्वास्थ्यमा ध्यान नदिदा पाठेघरको क्यान्सर हुन सक्ने सम्भावना रहेको डा गौतमले बताईन् ।
कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. गोविन्द गौतमले महिनावारीका समयमा आउने समस्यालाई अझै पनि महिलाहरुले समाजमा खुलेर भन्न सक्ने वातावरण नबनेकाले यसलाई तोड्न आवश्यक रहेको बताए । उनले समाजमा अझै पनि छाउपडी जस्ता समस्या रहेकाले स्वास्थ्य सम्बन्धि जानकारी सबैलाई दिन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका उपाध्यक्ष अञ्जु जिसीले प्याड प्रयोग सम्बन्धि ज्ञान सबैमा हुनुपर्ने बताउदै जथाभावी बाहिरी प्याड प्रयोग गर्दा वातावरण संगै स्वास्थ्यमा पनि असर गर्ने भएकाले घरेलु प्याड बनाएर सहज रुपमा प्रयोग गर्न सकिने जानकारी दिईन् । कार्यक्रम अस्पतालका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता र सुनिता शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।