नारायण गौतम, बागलुङ २०७५ बैशाख २५ । बागलुङ नगरपालिका २ घर भै हाल बेल्जियम बसोवास गर्दै आएका समाजसेवी देबेन्द्र पौडेल देबुले यहि बैशाख २१ गते परेको आफ्नो एक्काईसौँ बिबाहोत्सव तथा जेष्ठ सुपुत्री दीक्षा पौडेलको बीसौ शुभजन्मोत्सवको अवसरमा बागलुङमा सन्चालित मानवसेवा आश्रमका बालगोपाल सूरज थापालाई स्थानीय फ्यूचरब्राईटर बोर्डिङ स्कूलको कक्षा यु केजीमा अध्ययन गर्नका लागि एक वर्षको अध्यापन खर्च रु २० हजार पौडेल दम्पतिले व्यहोरेका छन् ।
आज बिहान मानवसेवा आश्रममा आयोजित एक कार्यक्रममा पौडेल दम्पतिले दिएको रु २० हजारको चेक धौलागिरी अन्चल अस्पतालका जनस्वास्थ्य निरीक्षक रामप्रसाद खनालले मानवसेवा आश्रमका संयोजक एवं अभिभावन मनिष रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
स्मरणीय छ, समाजसेवी पौडेलले गत बैशाख १८ गते ढोरपाटन नगरपालिकाका श्रीधर बस्नेतलाई रुद्रेपिपल माबिमा कक्षा २ मा पढाउन लाग्ने खर्च व्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेका थिए ।
मानव सेवा आश्रमका संयोजक एवं अभिभावक रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा बागलुङ नगरपालिका २ का अध्यक्ष जीवन आचार्य, अधिबक्ता राम शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, बालकृष्ण शर्मा लगायतले मन्तव्य दिएका थिए ।
कार्यक्रममा धौलागिरी अन्चल अस्पतालक जनस्वास्थ्य निरीक्षक खनालले समाजसेवी पौडेलका बारेमा जानकारी दिएका थिए भने आश्रमकी केन्द्रिय अभियन्ता सुमिरा लामाले आश्रमका बारेमा प्रकाश पारेकी थिईन् ।