थम्मन थापा, बागलुङ २०७५ वैशाख २८ । ग्लोवल युथ एशोसियसन नेपालले शुक्रबार गल्कोट नगरपालिका ९ बाङगेसल्ला स्थित नवदीप प्राथमिक विद्यालयलाई रु १ लाखको शैक्षिक सामाग्री तथा पोशाक सहयोग गरेको छ । आर्थिक अवस्था निकै कमजोर र दलित विद्यार्थी मात्र रहेको सो प्राथमिक विद्यालयलाई उक्त सामाग्री एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।
विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई झोला, पोशाक, जुत्ता, मोजा र १ वर्षको लागि हुने गरि कपि, कलम, ईरेजर, कटर लगायतका शैक्षिक सामाग्री वितरण गरिएको थियो । २०६४ सालमा स्थापना भएको उक्त विद्यालयमा भौगोलिक विकटता, पर्याप्त श्रोत साधन र आर्थिक व्यवस्थापन नहुॅदा विद्यालयले समस्या झेल्दै आईरहेको छ ।
विद्यालयमा १ दरबन्दी र २ स्थानिय श्रोतमा शिक्षक रहेका छन । दलित र विपन्न वर्गको बाहुल्यता रहेको उक्त गाउमा जग्गाको अभाव हुदा साँघुरो अनि भिरालो जमिनमा विद्यालय भवन भएता पनि पर्याप्त खेल मैदान शौचालय र विद्यालय हाताभित्र पर्खालको आवश्यकता रहेको विद्यालयका प्रधानध्यापक वसन्ती फुल्देलले बताईन ।
२०६४ सालमा स्थानियले निर्माण गरेको भवन अहिले जीर्ण अवस्थामा रहेको छ । वर्खायाममा पानी चुहिने, भित्र पानी पस्ने लगायतका समस्याले अध्यापनमा नै समस्या हुने गरेको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै ग्लोबल युथ यशोसियसन नेपालका संयोजक अर्जुन सापकोटाले दलित र विपन्न वर्गका विद्यार्थीहरुको उज्जवल भविष्यको निम्ति संस्थाले यस्तो कार्यलाई प्राथमिकताका साथ अगाडी बढाईरहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला युवा समिति बागलुङका अध्यक्ष विष्णु पौडेलले आफुहरुले दुर दराज र विकटमा रहेका विपन्न विद्यार्थीको शैक्षिक प्रगतिको निम्ति सहयोग गर्न आतुर रहेको बताउदै सहयोग गर्न पाउदा आफुहरु नतमस्तक भएको समेत उल्लेख गरे ।
सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर विश्वकर्मा, गलकोट नगरपालिका वडा नं ९ का वडा सदस्य धर्मदत्त सापकोटा, महिला सदस्य अम्बिका सापकोटाले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाधिकारी, अभिभावक, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।