प्रेम सुनार, गुल्मी २०७३ फागुन ९ । गुल्मीको हावा उस्तै हो वा व्यक्तिको रगत उस्तै हो ? या कलियुगको चमत्कार ? गुल्मीमा अनौठा अनौठा प्रेम र विवाह सम्वन्ध हुँदै आएका छन् । ८० को हाराहारीमा पुगेकाहरुले बाजै बजाएर विवाह गरेको पनि यसै गुल्मीमा संसारले देखे । गाडीमै प्रेम लाभ लिई रहेका वेला उक्त गाडी खसेर ८० मिटर तल भिरमा पुग्दा समेत थाह नपाउने कस्ता जोडी हुन् भन्ने हल्ला पनि नसुनिएको होईन यहि गुल्मीमा ।
पुष्टी नै भएको पछिल्लो समाचार यो छ कि १२ वर्षिया छोरीको लभ चक्करबाट वावु आमा यति वेला हार स्वीकार गरेका छन् । यो गुल्मी दर्लामचौरको खवर हो । एक महिना अघि दर्लामचौर–७ का १६ वर्षिय सुशिल बस्नेतले दर्लामचौरकै १२ वर्षिया वालिका अनिता क्षेत्री (नाम परिवर्तन)लाई भगाएका थिए ।
कक्षा ८ मा पढ्ने अनितालाई कक्षा ७ मा पढ्ने सुशिलले भगाए पछि गाउँमा निकै हंगमा भएको थियो । केटीका परिवारजनले खोज तलासका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । फलतःमाघ २३ गते ती दुवैलाई फेला पारी दुवैका परिवारजनको रोहवरमा आ–आफ्नो परिवारको जिम्मामा लगाएर पठाएको थियो प्रहरीले ।
तर माया भन्ने चिजै त्यस्तो, मनले मान्दै मानेन र ती वालिका आमालाई विभिन्न वाहना बनाएर घरबाट हिडिन् । अन्ततः छुट्टिएको एक हप्ता नपुग्दै वावु आमाको अस्वीकारका वावजुद पनि ति १२ वर्षिया वालिका वेहुली बन्न आतुर बनिन र माघ २९ गते सुशिलका परिवारजनले बाजै बजाएर घर भित्राएको अनिताकी आमाले बताईन् ।
‘मेरो श्रीमान विदेशमा हुनुहुन्छ , मैले सानै उमेरकी छोरीलाई छुटाउन निकै प्रयास गरेर छुटाएर घर पनि फर्काएँ तर स्कुल पढ्न जान्छु भनेर हिडेकी छोरीलाई मसान्तीको दिन बजा बजाएर , भोज भतेर गरेर उनिहरुले भित्राए’– अनिताकी आमाले भनिन्–‘ उनिहरुका सामु मेरो केहि लागेन । ’ उनका अनुसार छोरी अनिता भर्खर १२ वर्ष उमेर पार गरेकी छिन् ।
वाल विवाहलाई कानुनले वर्जित गरे पनि समाजमा यस्ता विवाह भई नै रहेका छन् । वाजा वजाएर भोज भतेर नै गरेर १२ वर्षिया वालिकालाई भित्राएका परिवारजनले भने उक्त विवाहलाई सञ्चार माध्यमबाट सार्वजानिक गर्न चाहेका छैनन् ।