Sorry, that menu does not exist.
 

युवा परिषद् बागलुङको आयोजनामा ३ सय ९० घण्टे आधारभूत सिलाई कटाई तालिम सुरु !

रबिना बोहरा, बागलुङ २०७५ बैशाख ३० । १६ बर्ष देखी ४० बर्षसम्मका युवाहरुलाई बागलुङमा आधारभुत सिलाई कटाई तालिम सुरु भएको छ । नेपाल सरकार तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् बागलुङको आयोजनामा ३ सय ९० घण्टे तालिम सुरु भएको हो ।

‘समृद्ध नेपालका लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ युवा सिप तथा उद्यमशिलता विकास तालिमको आयोजना गरिएको हो । बागलुङ जिल्लाको विभिन्न स्थानका १२ जना महिलाहरुको सहभागीता रहेको छ । तालिमको उद्घाटन गर्दै युवा परिषद् बागलुङका अध्यक्ष बिष्णु पौडेलले विभिन्न खालका सिपमुलक कार्यहरुबाट युवाहरुलाई स्वरोजगार बनाउनुपर्ने बताए । उनले स्थानीय सरकारले बढ्दो बैदेशिक रोजगारलाई रोक्नका लागि दीर्घकालिन योजना बनाउन आवश्यक रहेको भनाई राखे । सरकारले युवाहरुको लागि १० बर्षिय योजना अगाडी सारेको अवस्थामा अव दिगो र व्यवस्थित बनाउन सबैको सहयोग र साथ आवश्यक रहेको बताए ।

१६ देखि ४० बर्ष उमेर भित्रका युवाहरुलाई दक्ष, व्यवसायिक, रोजगारी र बिदेश पलायन हुनबाट रोक्नको लागि काम गर्दै जाने बताए ।

समितिका कार्यालय प्रमुख तथा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले नेपालमा रहेका १९ प्रतिशत युवाहरु बेरोजगार रहेको बताए । उनले स्नातक गरेका २६ प्रतिशत युवाहरुले पनि रोजगार नपाएको तथ्याङ्क रहेको बताउदै कामका लागि विदेश गएकाहरु मध्य २ प्रतिशतले मात्रै राम्रो आम्दानी गर्ने गरेको जानकारी दिए ।

वैदेशिक रोजगारमा गएकाहरुमा ७४ प्रतिशत अदक्ष र १३ प्रतिशत अर्धदक्ष युवाहरु रहेका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरुले २०६६ को युवा नीति परिमार्जन गरेर २०७२ आइसकेकाले दक्षतामा अभिबृद्धि गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रम जिल्ला युवा परिषद् बागलुङका अध्यक्ष बिष्णु पौडेलको अध्यक्षता र समितिका कार्यालय प्रमुख कुस्मराज उपाध्यायको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply