लन्डन, २०७५ बैशाख ३० । पर्वत जिल्लामा स्वास्थ्य क्षेत्रमा लगानीका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय पर्वत समाज बेलायतले आगामी जुन ३ तारिखको सांझ एक करोड रुपैयां संकलन गर्ने महत्वकांक्षा सहित अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी कार्यक्रम गर्ने भएको छ । यो पर्वतेहरुको कुम्भ मेला भएपनि यसमा गैर पर्वतेहरु पनि सहभागी हुने आयोजकको भनाइ छ ।
प्रसुति गृह वा अन्य स्वास्थ्य सेवासंग सम्वन्धित क्षेत्रमा लगानीका लागि आर्थिक सहयोग जुटाउन विशेष च्यारिटी गर्न लागिएको समाजका अध्यक्ष पुरन गिरीले बनाए ।
अध्यक्ष गिरीले आफ्नो जिल्लाको प्रोजेक्टलाई सहयोग गर्न विश्वभरका पर्वतेहरुलाई आव्हान गरेका छन् । उक्त च्यारिटीमा बेलायतबाहेक बेल्जियम, नेदरल्याण्ड, स्वीडेन, डेनमार्क, अमेरिका, युएइ, जापान आदि देशमा रहेका पर्वतेहरु पनि सहभागी हुने अपेक्षा आयोजकले गरेका छन् ।
कार्यक्रम संयोजक हितकाजी गुरुङले च्यारिटीको तयारी तीव्र भइरहेको जनाउंदै आफ्नो उक्त प्रोजेक्टका लागि अमेरिका बस्ने एकै व्यक्तिले ३० लाख प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको जनाए । ‘विदेशमा रहेका पर्वतेहरुको कुम्भ मेला पनि हो यो’( संयोजक गुरुङले भने, ‘कार्यक्रम मनोरन्जनसहित प्रभावकारी र उपलब्धिमुलक बनाउने हाम्रो तयारी छ । हामी बेलायतस्थित पर्वतवासी र गैर पर्वतका नेपालीलाई पनि पूण्य काममा सघाउन अपिल गर्छौं ।’
गत वर्ष अक्टोबरमा काठमाडौंमा भएको ‘एनआरएनए ग्लोवल कन्फेरेन्स’ का बेला विश्वभरका पर्वतेहरु एकै ठाउं भेला भएका थिए । सोही क्रममा विदेशमा रहेका पर्वतेहरुलाई संगठित गरि जिल्लाको विकास तथा जिल्लावासीलाई अप्ठेरोमा सहयोग गर्ने उद्देश्यले अन्तराष्ट्रिय पर्वत समाज गठन गरिएको थियो ।
संयोजक हितकाजी गुरुङले संस्था जन्माएर मात्र हुन्न, जिल्लालाई केही गरौं भनेर पहिलो पटक विशेष च्यारिटी गर्न लागिएको प्रष्टयाए ।
यस च्यारिटी कार्यक्रमबाट उठेको रकम स्वास्थ्य क्षेत्रमा लगाईने छ र यो प्रोजेक्टको खोजी गर्ने जिम्मा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय उपाध्यक्ष कुल आचार्यलाई जिम्मा दिईएको छ । गयको वर्ष वेल्जियममा भएको पर्वत अन्तर्राष्ट्रिय सेवा समाजको वैठकले निर्णय गरि जिम्मा दिएको हो । जुटेको सहयोग रकमबाट सके सम्म प्रसुती गृह वनाउने आयोजकको अभियान छ ।
यसैवीच, पर्वत वेलफेयर सोसाइटी यूकेका अध्यक्ष दधि आचार्यले यूके ‘होस्ट कन्ट्री’ भएकाले ३ जुनको च्यारिटीलाई आफ्नो संस्थाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा पर्वत जिल्लाकै लोकप्रिय गायक विमलराज क्षेत्रीको गायन विशेष आकर्षण हुनेछ । पहिलो पटक बेलायत भ्रमणमा रहेका गायक क्षेत्रीले च्यारिटीमा सहभागी भएर आफ्नो जिल्लावासीलाई मनोरन्जन दिलाउन पाउनु आफ्ना लागि सुःखद संयोग भएको बताए । कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य र अन्य मनोरन्जन पनि हुने बताइएको छ ।