Sorry, that menu does not exist.
 

साताको तस्वीर : रुप बदल्दै गाईघाट झरना !

शब्द/चित्र : विजय राना

बागलुङ २०७५ बैशाख ३० । आन्तरिक पर्यटकको रोजाई बनेको गाईघाट झरनाले रुप बदल्ने भएको छ । अब गाईघाट झरनाको प्राकृतिक सुन्दरतामा थोरै कृत्रिमता थपिने भएको छ, जसले गाईघाट झरना हेर्न पुग्ने जो कोही पर्यटकलाई थप आकर्षित गराउने छ ।

ताराखोला गाउँपालिका वडा न.१ मा रहेको झरनाको छेउछाउमा बंगैचा बनाईने भएको छ भने रेलिङ समेत राखिनेछ । झरनाको तल्लो भागमा रहेको पोखरीमा प्लाष्टर गरिनेछ ।

गाउँपालिकाको ११ लाख ५२ हजार रुपैयाँको लागतमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नको लागि स्वीमिङ पुल समेत निर्माण गरिने ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी गराएका छन् ।

अनुमानित ५० मिटर लामो झरनालाई थप आकर्षित बनाउनको लागि गुरु योजना समेत बनाउने बताइएको छ । झरनाको तल्लो भागको छेउछाउमा व्यक्तिगत जग्गा रहेकाले केही समस्या भए पनि पर्यटकलाई थप आकर्षित गराउन जग्गा खरिदको लागि पनि छलफल चलाईएको छ ।

पछिल्लो समय गाईघाट झरना हेर्ने आन्तरिक पर्यटकको संख्या बढेको गाईघाट झरना निर्माण समितिका अध्यक्ष मनबहादुर लामिछानेले बताए ।

लामिछानेले झरनाको बिच भागमा रहेको दुलोमा जाँदा प्रति व्यक्ति ३० रुपैयाँ र विद्यार्थी तथा बालबालिकाबाट १५ रुपैयाँ शुल्क लिईने गरेको बताए । संकलित रकम गाउँपालिकाको राम्रो आम्दानीको श्रोतको रुपमा रहेको छ ।

झरनालाई गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाको संगम स्थलको रुपमा विकास गरिने योजना समेत बनाइएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply